
सुदूरपश्चिम, १७ कात्तिक । पर्याप्त बजेट अभावमा राष्ट्रिय गौरवको कैलाली–कञ्चनपुर हुलाकी राजमार्गको सडकखण्ड स्तरोन्नतिको काम पछिल्ला वर्षमा सुस्त भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पनि हुलाकी राजमार्ग निर्माणले गति लिन नसकेको स्थानीय बासिन्दाको गुनासो छ । स्तरोन्नति गर्न सुरु भएको चार वर्षमा कैलाली खण्डमा ३१ किलोमिटर हुलाकी सडक स्तरोन्नति भएको छ ।
कैलालीमा धनगढीको मोहना पुलदेखि सत्ती खक्रौलासम्म हुलाकी सडक ६९ किलोमिटर लामो छ । बाँकी खण्डमा स्तरोन्नतिको काम भइरहेको धनगढीपस्थित हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ ।
कैलालीकै लम्कीचुहादेखि टीकापुर बजार क्षेत्र (उत्तर दक्षिण) हुँदै सत्ती खक्रौलासम्मको २९ दशमलव पाँच किलोमिटर लामो सडकमध्ये आठ किलोमिटर खण्डमा कालोपत्रे भएको छ । टीकापुरदेखि खक्रौलासम्मको भागमा स्तरोन्नति हुन बाँकी छ ।
यो क्षेत्रको सिङ्गल लेन सडक ठाउँठाउँमा खाल्डाखुल्डी पर्दा आवागमन निकै असहज बन्ने गरेको स्थानीयवासीको गुनासो छ । कञ्चनपुरको डोकेबजारदेखि बेलौरी हुँदै दैजी बजारसम्मको ६२ किमी लामो हुलाकी सडकमध्ये सात वर्षमा ३८ किमी कालोपत्रे भइसकेको छ । डोके बजारदेखि बेलौरीसम्मको खण्डमा कालोपत्रे भइसकेको छ भने बेलौरीदेखि बेलडाँडी हुँदै दैजीसम्मको धेरै भागमा अझै कालोपत्रे हुन सकेको छैन ।
गत आर्थिक वर्षमा यो राजमार्गको स्तरोन्नतिका लागि रु ७५ करोड बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षमा बजेट घटेर आउँदा रु ४० करोड मात्र विनियोजन गरिएको छ । यो राजमार्ग स्तरोन्नतिका लागि कैलालीको खण्डमा आव २०७६÷७७ मा र कञ्चनपुरको खण्डमा आव २०७३÷७४ मा ठेक्का लागेको थियो । कञ्चनपुर खण्डमा स्तरोन्नति गर्न लागेको ठेक्काको अवधि गएको असारमै सकिएको छ ।
ठेक्काको अवधि सकिए पनि निर्माण कम्पनीको कार्यप्रगतिको आधारमा ठेक्काको म्याद थप्ने वा नथप्ने विषयमा निर्णय हुने हुलाकी राजमार्ग आयोजना कार्यालयका इन्जिनियर दीपक सुनार बताउनुहुन्छ । बजेट नथपिएमा चालु वर्षमा पनि स्तरोन्नतिको बाँकी काम पूरा नहुने उहाँको भनाइ छ ।
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको ‘सिङ्गल लेन’को हुलाकी राजमार्गलाई नेपाल सरकारद्वारा सहरी खण्डमा ‘चार लेन’ र ग्रामीण खण्डमा ‘दुई लेन’ बनाएर स्तरोन्नति गर्ने कार्य भइरहेको हो । निर्माण थालिएको सुरुका वर्षमा रुख कटानीको प्रक्रिया लम्बिँदा कञ्चनपुरको शुक्लाफाँटा आरक्ष क्षेत्र र कैलालीको बसन्ता वन क्षेत्रमा यो राजमार्ग निर्माणको काम ढिलो सुरु गरिएको थियो ।
धनगढी, लम्कीचुहा र टीकापुर नगर क्षेत्रको हुलाकी खण्डमा ‘चार लेन’ र ग्रामीण खण्डमा ‘दुई लेन’सडक स्तरोन्नति भइरहेको छ । राजमार्गअन्तर्गतको धनगढी खण्डका खोलमा दुई वटा पुल र कञ्चनपुरको दोदा नदीमा ‘डबल लेन’को पुल निर्माणका लागि ठेक्का लागिसकेको छ ।
कैलालीको भजनी हुलाकीखण्डको कान्द्रा नदीमाथि पुल निर्माण हालै पूरा भइसकेको छ । यो राजमार्ग स्तरोन्नतिका लागि अहिलेसम्म रु चार अर्ब २२ करोडको ठेक्का लागिसकेकामा रु दुई अर्ब ६८ करोड बराबरको काम पूरा भइसकेको हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ ।