
काठमाडौं, १९ कात्तिक । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाएका जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतकालाई आज श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आज दिउँसो उपप्रधानमन्त्री खड्काले जाजरकोटको त्रिवेणी नदीमा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । सो अवसरमा उपप्रधानमन्त्री खड्कासहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थिति थियो ।
उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकैदिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै आजदेखि राहत वितरण सुरू गरिने जानकारी दिए।
“दुई दिनभित्र सबै भूकम्पपीडित नागरिकसम्म पुग्नेगरी राहत सामग्री पठाएका छौँ, थप केही आउनेक्रम जारी छ”, उनले भने, “जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौँ, सोही गतिमा राहत पनि वितरण गर्छौं ।” उपप्रधानमन्त्री खड्काले राहतलगत्तै पुनःनिर्माणको काममा सुरु हुने बताए।
उहाँले घाइतेहरूको उपचार सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता जनाए। गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण नलगाड नगरपालिकामा उपप्रमुख सिंहसहित ५५ जनाको ज्यान गएको थियो भने जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।
नलगाड नगरपालिका– ४ का अध्यक्ष बद्रीबहादुर पन्तले उपप्रमुख सिंहको निधनबाट पालिकालाई ठूलो क्षति पुगेको बताए। “पालिकाको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति गुमाउँदा ठूलो पीडा भएको छ”, उनले भने।
उपप्रमुख सिंहको निधन सदरमुकाम खलङ्गामा भए पनि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर नलगाड ल्याइएको थियो । अध्यक्ष पन्तका अनुसार भूकम्पमा परी मृत्यु भएका पालिकाका ५५ जनाकै दाहसंस्कार भइसकेको छ ।
निधन हुनेको सङ्ख्या एक सय ५७
शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा निधन हुनेको सङ्ख्या एक सय ५७ पुगेको छ । सो घटनामा जाजरकोटमा एक सय पाँच र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
भूकम्पमा परी जाजरकोटमा एक सय १२, रुकुममा एक सय ३२, जुम्लामा पाँच, दैलेख र बैतडीमा तीन÷तीन तथा सल्यान र रोल्पामा एक÷एक गरी दुई सय ५७ जना घाइते भएका छन् । सामान्य घाइते उपचारपछि घर फर्किएका छन् भने केहीको आधारभूत र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
गम्भीर घाइतेको सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा उपचार भइरहेको छ । प्रभावित क्षेत्रमा आज शव बुझ्ने, दाहसंस्कार गर्ने तथा पीडितलाई अत्यावश्यक राहत सामग्रीलगायत पाल, कम्बल वितरणको कार्य भइरहेको तत् स्थानीय तहका पदाधिकारीले जानकारी दिए ।
जाजरकोटको छेडागाड नगरपालिका प्रमुख रत्नबहादुर खड्काले भूकम्पमा परी ज्यान गुमाएकाको शव परीक्षण गरी भेरी नदी किनारमा दाहसंस्कार गर्ने काम भएको जानकारी दिए। पाल, कम्बललगायत राहत सामग्री प्राप्त हुनेक्रम जारी रहेको उनले बताए। “प्राप्त राहत सामग्री पीडितसमक्ष पु¥याउने काम भइरहेको छ । रेडक्रसलगायतका सङ्घसंस्थाबाट थुप्रै राहत सामग्री प्राप्त भएको छ”, उनले भने, “केही वितरण गरियो, केही पुग्दैछन् ।”
भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार एकद्वार प्रणालीबाट राहत वितरण भएको जानकारी दिए। वडा कार्यालयबाट क्षतिको तथ्याङ्कअनुसार राहत वितरण गरिएको उनको भनाइ छ । “ओढ्ने, ओछ्याउने र खाद्यान्नलगायत राहत सामग्री वितरण गरियो, राहत बुझ्ने र मृतकको दाहसंस्कार गर्ने काम भइरहेको छ ।” बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरीले उद्धारका काम निरन्तर भइरहेको जानकारी दिए।
“प्रभावितको स्वास्थ्य अवस्थालाई ध्यान राखी चिकित्सकको टोली परिचालित गरिएको छ, थप वस्तुस्थिति बुझी विपद् व्यवस्थापन समितिको बैठक बसेर बजेटसहितको निर्णय गर्ने तयारीमा छौँ ।” भूकम्पबाट घर क्षति भएका नागरिकलाई तत्काल बसोबासका लागि सार्वजनिकस्थल, विद्यालयलगायतका स्थानमा व्यवस्था गरिएको उनको भनाइ छ । “ग्रामीण वस्ती र सामाजिक सम्बन्ध राम्रो भएका कारण धेरैले पीडितलाई आश्रय प्रदान गरेको अवस्था छ”, उनले भने।
कुशेँ गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले प्रारम्भिक राहतका सामग्री दाल, चालम, चाउचाउ, च्यूरा, कम्बल, त्रिपाल वितरण गरिएको जानकारी दिए। मृतकको शव प्रक्रिया पु¥याएर अन्त्येष्टि गरिएको उनको भनाइ छ । “सामान्य घाइतेको चिकित्सकले उपचार गरिरहेका बताए ।