
काठमाडौं, २१ कात्तिक । राष्ट्रिय योजना आयोगले १६ औँ योजनाका लागि सुझाव लिन पहिलो चरणमा ४ वटा प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गण्डकी र सुदुरपश्चिममा सुझाव संकलन गर्दैछन् ।
आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन गरेको छ । आयोग सदस्य डा. फुयाँलका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो ।
छलफलमा गण्डकीका मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका सबै मन्त्री र प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरुको सहभागीता थियो । मंगलबार भने महानगरपालिका, नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुख सहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागितामा सुझाव लिएकाे सदस्य फुयाँलले जानकारी दिएका छन ।

उनका अनुसार यो कार्यक्रम गण्डकीसँगै सुदुरपश्चिम, बागमती र मधेश प्रदेशमा समेत जारी रहेकाे छ । ‘१६औँ योजनामा सबैको सुझाव समेट्ने गरी हामीले टोली परिचालन गरेका हौं’ सदस्य फुयाँलले भने, ‘हिजो सोमबार हामीले प्रदेश सरकारका मूख्यमन्त्री र मन्त्री राखेर छलफल गयौँ, आज त्यो भन्दा ठूलो सहभागिता हुन्छ, आजको छलफलमा पालिका प्रमुख उपप्रमुखहरु निजी क्षेत्रको सहभागीता रहेकाे छ ।