उदयपुर प्रहरीले शुरू गर्याे ‘म हिम्मत गर्छु ड्रग्स सेवन गर्दिन’ अभियान

-



     सफल आवाज    
     मंसिर १३ गते २०८० मा प्रकाशित



उदयपुर, १३ मंसिर। जिल्ला प्रहरी कार्यालय उदयपुरले  ‘म हिम्मत गर्छु, ड्रग्स सेवन गर्दिन’ नामक अभियान शुरू गरेको छ । लागू औषधको कुलतमा परेका र सुरूवाती चरणमा रहेकाहरूलाई माया, हेरचाह तथा मनोपरामर्शको माध्यमबाट पुन सामाजिकीकरण गर्ने उदेश्यले यो अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाले जानकारी दिएका छन ।

उदयपुर प्रहरीले गत शनिबारदेखि यो अभियान सञ्चालनमा ल्याएको हो । स्थानीय सरकारको सहकार्यमा सञ्चालन गरिएको याे अभियान उदयपुर जिल्लाका बिभिन्न स्थानहरुमा सञ्चालन गरिने एसपी थापाले जानकारी दिए ।

एसपी थापाका अनुसार यो अभियानमा हालसम्म कुलतमा फसेका ५२ जनालाई कुलत छोड्नपर्छ र सकिन्छ भन्ने दृढ इच्छा शक्ति जगाउने अनुशिक्षण दिइसकिएको छ ।

यो अभियानले कुलत छोड्न आत्मबल जगाउने, समाजमा कुलत छोडन प्रहरी, समाज, परिवार र स्थानीय तहको साथ सहयोग रहने र कुलतमुक्त भएपछि वैकल्पिक अवसरमा जोडाउने योजना कार्यक्रमले समावेश गरेको एसपी थापाले बताए ।

कार्यक्रममा यसअघि दुर्व्यसनमा परेर छुटेका व्यक्तिहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । उनीहरुले दुर्व्यसनीको समयमा आफूले भोगेको समस्याबारे र छोड्न सकिँदो रहेछ र त्यसपछिको सुखद जीवनका बारेमा प्रशिक्षण दिएका थिए ।

जसले गर्दा प्रयोगकर्ताहरुलाई कुलत छोड्ने आत्मबल र प्रेरणा पुगेको एसपी थापाले बताए । कार्यक्रममा उपस्थिति प्रयोगकर्ताहरुले अब कहिले पनि लागूऔषध सेवन नगर्ने दृढता समेत व्यक्त गर्दै हस्ताक्षर समेत गरेका थिए ।

कार्यक्रममा त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई, प्रजिअ जनार्दन गौतम, जिल्ला न्यायधिवक्ता उत्तम श्रेष्ठ, जिल्ला अस्पताल उदयपुरका डा. निर्मला चौधरी र अभिभावकले समेत कुलत छोड्न सकिन्छ र यो छोड्न परिवार समाज स्थानीय तहले साथ दिने भन्ने सन्देशमूलक मन्तव्य दिएका थिए ।

त्यस्तै त्रियुगा संगीत विद्यालयका संचालन शैलेन्द्र खतिवडा, परामर्शदाताहरु एवं अभियन्ताहरु, सञ्चारकर्मीहरु लगायत लागू औषध सेवनकर्ता र निजका अभिभावकको समेत कार्यक्रममा उपस्थिति रहेकाे थियाे ।