ग्लोबल आइएमई लघुवित्तले गर्यो भुकम्प पिडितलाई राहत वितरण

-



     सफल आवाज    
     मंसिर १८ गते २०८० मा प्रकाशित



पोखरा, १९ मंसिर । पोखरा महानगरपालिका– २६, बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले जाजरकोट भुकम्प पिडितलाई रु. ११ लाख ७४ हजार नगद राहत वितरण गरेको छ ।

वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्य तथा अभिभावकहरुको भुकम्पका कारण भएको क्षतीलाई मध्यनजर गर्दै संस्थाले उक्त रकम वितरण गरेको हो । वित्तीय संस्थाको राडीबजार, रागेचौर र दुल्लु शाखाका कुल २९९ जना सदस्य तथा अभिभावकहरुलाई राहत रकम वितरण गरिएको वित्तीय संस्थाले जनाएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर मिति २०८० कार्तिक १७ गते राती गएको विनासकारी भुकम्पमा परी घरवार तथा परिवारका सदस्य गुमाएका सदस्यहरुलाई वित्तीय संस्थाका प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रमुख तथा कर्मचारीहरु उहाँहरुकै घर घरमा पुगी भुकम्पको कारण पुगेको क्षतीमा मल्हम लगाउने प्रयास स्वरुप आर्थिक राहत प्रदान गरिएको वित्तीय संस्थाले जनाएको छ ।

विपन्न वर्गसँग सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्ष एवं परोक्ष रुपमा प्रभाव पार्ने महाभूकम्प, बाढीपहिरो तथा कोभिड महामारी लगायत विनासकारी घटनाहरुमा वित्तीय संस्थाले वित्तीय कारोबारलाई निरन्तरता दिंदै सामाजाकि उत्तरदायित्व र ग्राहक संरक्षणका विबिध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । वित्तीय संस्थाको ५४ जिल्लामा १२० वटा शाखा र १,५०,००० भन्दा बढी सदस्यहरु रहेका छन् ।