दिगोपन र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास अपरिहार्य : विज्ञहरु

-



     सफल आवाज    
     मंसिर २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ मंसिर । विज्ञहरुले नेपालको जलविदुत विकासका लागि दिगोपनता र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास अपरिहार्य रहेको बताएका छन् ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को नियमित कार्यक्रम ’फ्राइडे फोरम’ अन्तर्गत शुक्रवार ललितपूरमा आयोजित ‘जलविद्युत दिगोपन मापदण्डको व्यवसायिक मूल्य’ विषयक कार्यकारी नेतृत्व विकास कार्यशालामा उनीहरुले देश, समुदाय र भविष्यको ऊर्जा विकासको लागि दिगोपनता र स्थायित्व महत्वपूणर् भएको बताए ।

जलविद्युत दिगोपनताको मापदण्डले विश्वबाट जलवायु र कार्बन कोषसहित विदेशी लगानी आकर्षित गर्न सकिने बताउँदै यसले जलविद्युतको विकासको क्रममा वातावरण, सामाजिक र शुशासन (इसीजी) को पक्षलाई बलियो बनाउने बताए ।

इप्पान अध्यक्ष गणेश कार्कीले समुदाय र वातावरणको भलाईका लागि जलविद्युतको दिगोपनामा ध्यान दिनुपर्ने बताएका छन् । नेपाल जलविद्युत दिगोपनका मापदण्ड अपनाउने देशमा अग्रणी नै रहेको भन्दै नेपाल, क्यानडा, ब्राजिललगायत केही देशका केही जलविद्युत आयोजनाले यसअघि नै स्वणर् प्रमाणपत्र (गोल्ड सर्टिफिकेट) लिएको पनि कार्कीले बताए ।

’केही निजी जलविद्युत कम्पनीहरुले दिगोपनको मापदण्ड पूरा गरेको सर्टिफिकेट लिइसकेका छन् भने केही प्रक्रियामा छन् ।’ कार्कीले भने, ’एफडिआई आकर्षित गर्न पनि जलविद्युतको दिगोपनाका मापदण्ड पूरा गर्नु आवश्यक छ ।’

इप्पानसहित युएसआईडी, हाइड्रोपावर सन्सटेनाबिली एलाइन्स, नोराड र बिजवेलले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमा अध्यक्ष कार्कीले जलविद्युतको दिगोपनाका लागि सरकार, अन्तर्राष्ट्रिय र निजी क्षेत्रसँगसँगै हिड्नुपर्ने बताउँदै इप्पान साझा दृष्टिकोणका साथ अघि बढ्न तयार रहेको बताए ।

कार्यशालालालाई सम्बोधन गर्दै बिजबेलका संस्थापक तथा अन्तर्राष्ट्रिय जलविद्युत संघ (आईएचए) का उपाध्यक्ष सुशील पोखरेलले नेपालबाट ३ ओटा आयोजनाले स्ट्याण्डर्ड सर्टिफिकेट पाइसकेको भन्दै अव यसलाई अभियानकै रुपमा अघि बढाउनुपर्ने बताए ।