घरको खाना खाएर कमाउनेहरू किन देशमा बस्न चाहेनन् ?

-



     प्रकाश सापकोटा, हाल युराेप    
     पौष ७ गते २०८० मा प्रकाशित



युराेप, ७ पुस । देशमा रोजगारी नपाएर मात्रै जनता विदेश पलायन भएका होइन रहेछन् जस्तो प्रधानमन्त्री प्रचण्डलाई अब लाग्न थालेछ। हामीलाई उहिल्यै लागेको हो। एक सार्वजनिक अभिव्यक्तिका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले घरको खाना खाएर महिनाको असी हजार कमाउँदा पनि मान्छे देशमा अडिँदो रहेनछ भन्ने आफूले देखेको बताएका छन्। यसबारे बहस गर्नुपर्यो पनि भनेका छन्। बहस गरौँ न त !

दायाँ बायाँ नगई सिधा विषयमा जाउँ है त ! गाउँको घर छेउको स्कुलमा जागिरे एउटा शिक्षक किन देशमा बस्न चाहँदैन ? हामीलाई थाह छ, किन चाहँदैन ! आँखा अगाडि उसको जागिर देखिएला, नदेखिएका उसका संसय, असुरक्षा, अभाव र पीरहरू उसले बाहेक अरू कस्ले देखेको हुन्छ ? अलिअलि देखेको मध्ये केही चाहिँ म भन्दिन्छु, सुन्नुस् !

बल्लबल्ल मिलाएको त्यो शिक्षकको जागिर मिलाउन्जेल उसले कतिथरि र कस्ताकस्ता कालखण्ड पार गर्नुपरेको हुन्छ ? कति पापड बेल्नु परेको हुन्छ ? योग्यता र आत्मसम्मानको छातिमा कुल्चिएर आफूभन्दा अयोग्यका गोडा कतिचोटि मोल्नु परेको हुन्छ ? कतिजना रक्स्याहालाई कति बोतल आयातित रक्सी चढाउनु परेको हुन्छ ? कतिवटा गिद्दहरूलाई उनीहरूले मन पराउने प्राणीको शिकार बुझाउनु परेको हुन्छ ?

अझ, घर छेउकै स्कुलमा दरबन्दी मिलाउँदा सम्म उसले कति जोर चप्पल खियाएर कति ठाउँ धाउनु परेको हुन्छ ? अनि उसको जस्तै योग्यता बनाउन लागेको उसको सन्तानले भविश्यमा फेरि उसकै चक्र पार गरेर पनि जागिर पाउला कि नपाउला, त्यसको के ग्यारेण्टी छ ? योग्यता र निश्पक्षताको सिस्टमलाई रूखको टोड्कोमा कोचारेर बाहिरबाट टम्मले बन्द कस्ले गरिदिएको छ ? ल, बहस गरौँ !

हेर्नोस्, आफ्नो घर राम्रो हुँदाहुँदै पनि छरछिमेकमा, गाउँ-टोलमा अराजकता बढ्यो भने त्यो घरका सदस्यलाई शान्ति मिल्दैन । दिनभरि काम गरेर भरे घर फर्कँदा घरमा केही उत्पात उखुण्डो भइसक्यो कि भन्ने पिरले उसलाई कहिल्यै छोड्दैन। राति सुतेकै बेला केहि घटना घट्ने पो हो कि भन्ने त्रासले निद्रा पर्दैन । अनि, अराजकहरू राज्य संयन्त्रबाट संरक्षित छन् भन्ने थाह पाएको घरवालाले बरू बसाइँ सरौँ क्यारे भन्ने दिन आउँदैन ?

कमाउनेले कमाएको कमाइ सुरक्षित राख्न हम्मे पर्ने भएपछि ‘कमाइएको छ’ भन्ने आत्मसन्तुष्टीले ऊ बाँधिन सक्दैन। देशमा असल, व्यवस्थित र भरोसापूर्ण पद्धती-प्रणालीको अभाव भइरहेपछि, कर्मचारीतन्त्रमा लोभलालच, अनियमितता रहिरहेपछि, कुनै निश्चित नियमबाट जिवन नचलेर पहुँचवालाका कृपा, आशिर्वाद रहुन्जेल मात्र चल्ने अवस्था नसुध्रिएपछि महिनाको असी हजारले कसैको मन न्यानो हुन सक्दैन। मन न्यानो नभएपछि छट्पटीले छोड्दैन।

पेटलाई सुकाउने मात्र भोक हुँदैन। आँखाले देखिने मात्र रोग हुँदैन। आँङमा लुकाउने मात्र लाज हुँदैन। जिउ दुखाउने मात्र पीडा हुँदैन। प्रचण्डहरूले दिएको होइन (दिएको भए त्यो अनियमितता हो), आफैँले पापड बेल्दा-बेल्दा मिलाएको शिक्षकको जागिर खाइरहँदा आफ्नो जस्तै योग्यता भएका कैयौँका अवसर खोसेको अनुभव पनि त हुँदो हो एक इमान्दार मनलाई ! समान योग्यताका लागि समान अवसरको ‘सिस्टम’ नहुँदासम्म यस्तो त हुने नै भयो ।

मासिक असी हजारको जागिरले आँखा त बन्द गरिदिँदैन। आँखाले आफ्नो परिवेश वरपरका अनियमितता, अराजकता, बेथिति टुलुटुलु हेरिरहन सकिएन भने गर्ने के ? आफ्नै आँखा फुटाउने त होइन होला ! अनि, बरू होस् यो नदेखिने ठाउँतिर जान्छु… भन्नु परेन ?

जम्मा एउटा जागिरेको दृष्टान्तलाई टिपेर, ‘मैले दिँदा दिँदै भएन’ भन्नुभन्दा पहिला सिङ्गो देशको प्रतिविम्व आँखामा राखेर बोलेको भए प्रधानमन्त्री जस्तो ओहदाको गरिमा पनि रहन्थ्यो, समस्याको जड पनि पक्डिएको भान हुन्थ्यो। बहसमा पनि अलिक बौध्दिक र गतिला आउँथे। हामी जस्ता हल्काफुल्का टिप्पणी गर्नेको यत्रो आँट पनि आउने थिएन ।

अतः भाँडोमा हालेको पानी अडिएन भन्नु भन्दा पनि कस्तो भाँडोमा हालियो, त्यो मनन गर्नु आवश्यक छ । भाँडोलाई पानी थेग्ने गुणस्तरको बनाउनु जरूरी छ। मेरो तर्फको बहस सकियो।