ढलान हुने तयारी अवस्थामा रहेको मोटरेबल पुल भत्कियो

-



     सफल आवाज    
     पौष १२ गते २०८० मा प्रकाशित



टक्सार (भोजपुर), १२ पुस । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । यो पुलले षडानन्द नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ ।

ढलान गर्ने तयारी अवस्थामा रहेको मोटरेबल पुल आज भत्किएको हो । अन्तिम चरणमा पुगेको पुल भत्किएसँगै स्थानीयको सहजरूपमा आवतजावत गर्ने चाहना पनि निराशामा परिणत भएको छ । स्थानीयले ठेकेदारको लापरवाही र इन्जिनियरको कमजोरीका कारण पुल भत्किएको आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले ढलानका लागि छड राखिसकेको अवस्थामा पुल तल खसेको बताए। पूर्वाधार विकास कार्यालय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानबिन गर्नुपर्ने माग स्थानीयले राखेका छन् ।

लापरवाहीका कारण यसअघि पनि भोजपुरकै दक्षिण क्षेत्र जोड्ने कावा खोलामा रु पाँच करोड बढीको लागतमा निर्माण भइरहेको पक्की पुल पनि २०७८ मङ्सिरमा भत्किएको थियो । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने स्थानमा स्वीस सरकारको आर्थिक सहयोगमा बनिरहेको पुल भत्किएको थियो ।