कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व गोलाघाटमा मनाउने

-



     सफल आवाज    
     पौष २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० पुस । कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व विशेष उत्सवका साथ मनाउने भएका छन् । कुमाल समाज नेपालले यसपालिको उक्त पर्व देशभरका कुमाल जाती एकै स्थानमा जम्मा भएर विशेष उत्सवका साथ मनाउने निर्णय समेत गरेको छ ।

समाजका केन्द्रीय अध्यक्ष तेलबहादुर कुमालले पत्रकारसँग कुरा गर्दै चितवनको भरतपुरस्थित पर्यटकीय क्षेत्र नारायणी र राप्ती नदीको सङ्गमस्थल गोलाघाटमा महोत्सवकै रुपमा पर्व मनाउने निर्णय भएको जानकारी दिए ।

उत्सवमा सांस्कृतिक कार्यक्रमसहित मौलिक वेशभूषा प्रदर्शन हुने जनाइएको छ । आफ्नो मौलिक घर, पाहुनाको स्वागत÷सत्कारका चाल÷चलनलाई पनि प्रदर्शन गरेर मौलिक संस्कृतिलाई प्रवद्र्धन र प्रदर्शन गरिने अध्यक्ष कुमालले बताए ।

महोत्सवकै रुपमा मनाउन लागिएको पर्वमा प्रदर्शनी कक्षसमेत राखेर कुमाल समुदायको मौलिक संस्कृति प्रदर्शन गरिने छ । अध्यक्ष कुमालका अनुसार उनीहरुले माघे सङक्रान्ति दसैँ, तिहारभन्दा पनि ठूलो पर्वको रुपमा लिने गर्छन् ।

उनले भने, “अरु समुदायको पर्वलाई राज्यले सम्बोधन गरेको तर कुमाल समुदायको पर्वलाई सम्बोधन नगरेकाले प्रधानमन्त्रीलाई नै सहभागी गराएर कुमालको पनि माघे सङ्क्रान्ति छ भनेर देखाउने र राजपत्रमा सम्बोधनका लागि पहल गर्न कार्यक्रम गरिएको हो ।”

कुमाल समुदाय देशका ७० जिल्लामा एक लाख ३० हजार हाराहारीमा रहेका जनाइएको छ । थर बदल्ने कारणले कुमाल समुदाय कम भएको उनीहरु बताउँछन् । उक्त कार्यक्रममा ७० जिल्लाबाट छ हजार मानिस सहभागी हुने बताइएको छ ।

महोत्सवमा कुमाल समुदायको मौलिक घर, खाना, वेशभूषा, नृत्य र राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहने गरी तयारी भइरहेको छ । कुमाल समुदायले संस्कृति संरक्षणका लागि पहिलोपटक उक्त कार्यक्रम गर्न लागेको हो ।