तरङ्ग खोलाको पुल निर्माण रोकियो

-



     सफल आवाज    
     माघ ९ गते २०८० मा प्रकाशित



नवलपुर (नवलपरासी), ९ माघ । कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै निर्माण कम्पनीले काम बन्द गरेको हो ।

कम्पनीले आफ्नो करिब रु ४८ लाख बराबरको सामान चोरी भएको जनाएको छ । निर्माण कम्पनीका सञ्चालक अशोक लोहनीले पुल निर्माणका लागि राखिएका डण्डी, प्लाइ, पाइप, कलेम्पुलगायतका सामग्री चोरी भएको बताए।

“बुलिङटार–३ का वीष्णुवीर जर्घाले मेरो सामान लैजानुभएको हो, सामान लैजाँदै गर्दा उहाँको ट्रयाक्टर दुर्घटनामा परेर मानिससमेत मरेका छन्”, उनले भने, “बुलिङटारमा निर्माणाधीन संरचनामा उहाँसँग सहकार्य गरेर करिब रु ११ लाखको काम गर्दा रु एक लाख ७० हजार जति रकम मैले तिर्न बाँकी थियो ।” बाँकी रहेको पैसा पनि आफूले दिने तयारी गरिरहेको बेलामा पुल निर्माणका लागि ल्याइएको सामान जर्घाले लगेको लोहनीले आरोप लगाए ।

“मेरो सामान चोरी भएको विषयमा मैले जिल्ला प्रहरी कार्यालय नवलपुरमा ट्रयाक्टर साहुको नाममा किटानी जाहेरी दिएको छु”, उनले भने, “मेरो हराएको सामानको क्षतिपूर्ति नपाएसम्म मैले पुल निर्माणको काम अगाडि बढाउँदिन ।” निर्माणाधीन पुलका सामान लैजाने भनिएका जर्घा बुलिङटार गाउँपालिका–३ का वडाध्यक्षसमेत हुन् ।

व्यवसायी लोहनीले करिडोरको तरङ्ग खोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गर्नेगरी रु तीन करोड ७३ लाखमा ठेक्का पाएका थिए । पुल निर्माणको काम ६५ प्रतिशत सकिएको उनको भनाइ छ । सो पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा रहेको जनाइएको छ ।

बुलिङटार–३ का वडाध्यक्षसमेत रहेका आरोपी जर्घाले निर्माण व्यवसायी लोहनीले आफूलाई छ वर्ष अगाडिको पैसा दिन बाँकी रहेको बताए। “निर्माण व्यवसायीले कालीगण्डकी करिडोरको बाटोमा पुल निर्माणको ठेक्का पाए । छ वर्ष अगाडि मेरो ट्रयाक्टर लगेर काम गर्नुभयो”, उनले भने, “त्यो पुल दुई वर्ष अगाडि नै निर्माण सकिँदासमेत मेरो पूरै भुक्तानी गर्नुभएन, सम्पर्कमा पनि आउनुहुँदैनथ्यो ।”

निर्माण व्यवसायी अशोक लोहनी सम्पर्कमा आएको बेला पनि पैसा दिन्छु भन्ने तर नदिने गरेको जर्घाको भनाइ छ ।