‘छहरा मौरी फार्म’ स्रोतकेन्द्रकाे रूपमा विकास

-



     सफल आवाज    
     माघ १३ गते २०८० मा प्रकाशित



पर्वत, १३ माघ । फलेबास नगरपालिका– १० कुर्घामा मौरीको स्रोत केन्द्र स्थापना गरिएको हो । स्थानीय मिनप्रसाद शर्माले विगत १० वर्षदेखि सञ्चालन गर्दै आएको छहरा मौरी फार्मलाई स्रोतकेन्द्रका रुपमा विकास गरिएको हो ।

पेसाले शिक्षकसमेत रहेका शर्माले विगत १० वर्षदेखि यो व्यवसाय गर्दै आएका छन् । उनले मौरीको घार विस्तारका लागि शाही घारसमेत बनाउँदै आएका छन् । उनले मौरीका नयाँ रानो उत्पादन गर्न थालेका छन् ।

मौरीपालनसम्बन्धी विभिन्न तालिम लिएपछि उनले शेरेना जातको मौरीको नयाँनयाँ रानो उत्पादन गर्न थालेका हुन्। १० वर्षअघि एउटा मौरीको घारबाट व्यवसाय सुरु गरेका शर्माको फार्ममा अहिले दुई सय घार पुगेका छन् । उनले महमात्र नभएर मौरीसहितका घारसमेत बिक्री गर्दै आएका छन् भने कृषकलाई आवश्यक तालिम प्रदान गर्दै आएका छन् ।

आफ्नै बारीमा दुःख गर्ने हो भने विदेश जानुपर्दाे रहेनछ भन्ने उदाहरण आफ्नो पेसाले देखाएको शर्माले बताए। मौरीको स्रोतकेन्द्रकैरुपमा विकास भएपछि उनलाई कृषि ज्ञानकेन्द्र र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशलेसमेत अनुदान तथा तालिम दिँदै आएको छ ।

कुर्घा गाउँ दक्षिणतर्फ फर्केको साथै यहाँको हावापानी र मौसम मौरीका लागि उपयुक्त रहेको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए। पैँयु, तोरी, विभिन्न फलफूललगायत मौरीका लागि चरन क्षेत्रसमेत प्रशस्त रहेकाले यहाँ मौरीपालनको सम्भावना उच्च रहेको उनको भनाइ छ ।

रेग्मीले व्यावसायिकरुपमा मौरीपालन गर्न चाहने कृषकलाई निर्देशनालयबाट आवश्यक सहयोग उपलब्ध गराइने जानकारी दिए । कृषक शर्माले वार्षिक १० क्विन्टलभन्दा बढी मह, मौरीको गोलासहित घार र खाली घार बिक्री गर्दै आएका छन् । मौरीका लागि आवश्यक खाद्यपदार्थ अर्थात् चास्नी आफै उत्पादन गर्दै आएको उनले बताए।

शर्माले मौरीपालनबाट मात्रै वार्षिक रु २० लाख आम्दानी गर्दै आएको बताए। “यो पेसामा हात हालेपछि पर्याप्त कमाइ भएको छ”, उनले भने, “कसैले विदेश नगइकन मौरीपालन व्यवसाय गर्न चाहन्छ भने म वार्षिक आफूले नै कमाएजति कमाउने उपाय बताइदिने र सहजीकरण गर्ने जिम्मा लिन्छु।”

शिक्षण पेसाबाट बचेको समयलाई सदुपयोग गरेर शर्मा जिल्लाकै नमुना मौरीपालक कृषक बनेको गण्डकी प्रदेशका निर्देशक रेग्मीले बताए। यो क्षेत्रमा लगनशील भएर मौरीपालनसँगै फलफूलखेती गर्ने हो भने कोही पनि युवा बेरोजगार हुनुपर्ने वा विदेश जानु नपर्ने रेग्मीको भनाइ छ ।

अर्का कृषक उमकान्त शर्माले ८० घारमा मौरीपालन गर्दै आएका छन् । उनले वार्षिक छ सयदेखि आठ सय किलोसम्म मह उत्पादन हुने गरेको बताए। उनले गतवर्ष मह र मौरी बिक्री गरेर रु १० लाख आम्दानी गरेको बताए ।

“मौरीपालन व्यवसायले सन्तुष्ट छु”, उनले भने, “घरपरिवार सबै यही पेसामा रमाएका छौँ ।” गाउँमै स्रोतकेन्द्र स्थापना भएपछि थप सहज हुने उनको भनाइ छ । फलेबास नगरपालिकाका विभिन्न वडामा गरी वार्षिक २० टन मह उत्पादन हुने कृषि शाखा प्रमुख केदार सापकोटाले बताए । नगरपालिका क्षेत्रमा करिब दुई हजार पाँच सय उन्नत घारमा मह उत्पादन हुने गरेको उनको भनाइ छ ।