फागुन ३ देखि ७ गतेसम्म पोखरामा नेपाल लिटरेचर फेस्टिभल

-



     सफल आवाज    
     माघ २५ गते २०८० मा प्रकाशित



पोखरा, २५ माघ । पोखरा । नेपाल लिटरेचर फेस्टिभलको एघारौं संस्करण फागुन ३ देखि ७ गते सम्म पोखरामा आयोजना हुने भएको छ ।

आयोजक बुकवर्म फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सूर्य नेपाल गाथा लिटरेचर फेस्टिभल बारे जानकारी गराएको हो ।

लेकसाइडस्थित बाराहीघाटमा बिहान १० बजेदेखि साँझ ७ बजेसम्म हुने सो फेस्टिभलमा ५५ भन्दा बढी सेसन हुने छन् । फेस्टिभलमा देश विदेशका २ सय भन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकारको सहभागिता रहने फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभलका निर्देशक नीरज भारीले जानकारी दिए ।

फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक अमेरिकन प्रोमिथियसका लेखक काई बर्ड, प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट, समालोचक चन्द्रहास चौधरी पनि आउने छन् । फेस्टिभलमा पूर्वप्रधानान्यायाधीश कल्याण श्रेष्ठले संविधान र सुशासन बिषयमा विद्धत्वप्रवचन दिने आयोजकले जनाएको छ ।

फेस्टिभलमा पत्रकार विजय कुमार, सांसद एवम् अर्थशास्त्री स्वर्णीम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्व मिस नेपाल शृङ्खला खतिवडा, अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्व अर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डे, नेता सिके राउत, लेखक खगेन्द्र संग्रौला, प्राडा. कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवम् उद्योगी विनाेद चौधरीको सहभागिता रहनेछ ।

यसैगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्व बैङ्कर अनिलकेशरी शाह, प्रा.कुशुम शाक्य, नेत्री समिक्षा बास्कोटा, गायक बद्री पंगेनी, गजलकार शितल कादम्बिनी, कवि डा. नवराज लम्साल, लेखक अमर न्यौपाने, कुमार नगरकोटी, गजलकार संगीता थापा, सुमन स्मारिका लगायतको सहभागिता रहने आयोजकको भनाइ छ । फेस्टिभलमा हरेक दिन सांगीतिक प्रस्तति समेत हुनेछ । कुटुम्ब व्याण्ड र द ब्लू फ्रेट ब्यान्डले प्रस्तुति दिने छन् ।

फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले सरोकारवालालाई जवाफदेही बनाउन सघाउने फेस्टिभलका निर्देशक नीरज भारीले बताए । समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई मजबुत बनाउन फेस्टिभल आवश्यक भएकाले आफूहरूले बर्सेनि लिटरेचर फेस्टिभल आयोजना गर्दै आइरहेको उनको भनाइ छ ।

आयोजक संस्थाका केशवशरण लामिछानेले लिटरेचर फेस्टिभल पोखराको ब्रान्डका रुपमा स्थापित भइसकेको र पोखरेलीले यसलाई अपनत्व ग्रहण गरिसकेको बताए । फेस्टिभलले पोखरालाई सभ्य एवम् सुसंस्कृत सहर बनाउँदै लगेको उनको भनाइ छ । तालको सहरमात्र नभइ साहित्यको सहरका रुपमा पोखरालाई चिनाउन फेस्टिभलको महत्वपूर्ण भूमिका रहेको लामिछानेले बताए ।

फेस्टिभलमा आउने पाहुनाहरूलाई पोखरामा स्वागत गर्न आफूहरू आतुर रहेको आयोजक संस्थाका भरत कोइरालाले बताए । पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको उनको भनाइ छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कला, साहित्यदेखि राजनीति र दर्शनसम्मको भोक जनाइदिने र मेटाइदिने अवसर फेस्टिभलले दिएको बताइन् । फेस्टिभलको प्रबर्द्धकमा पोखरा महानगरपालिका रहेको छ ।