लायन्सकाे सहयाेगमा पोखरामा बन्याे अन्तर्राष्ट्रिय झण्डा पार्क

-

-



     सफल आवाज    
     फागुन ७ गते २०८० मा प्रकाशित



पोखरा,७ फागुन। पोखराकाे महेन्द्रपुलमा लायन्सकाे सहयाेगमा अन्तर्राष्ट्रिय झण्डा पार्क बनेकाे छ । हालै नवनिर्मित उक्त झण्डा पार्कको आज समूद्घाटन समेत गरिएकाे छ। नेपालकै पहिलाे भनिएकाे याे झण्डा पार्क लायन्स इन्टरनेशनल अन्तर्गत नेपालका ५ वटा डिष्ट्रिक्ट (District 325 I, J, K, L, M) बाट प्राप्त करिब ७० लाखकाे आर्थिक सहयाेगमा निर्माण गरिएकाे हाे।

कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स इन्टरनेशनलका डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी र मेयर धनराज आचार्यले उक्त अन्तर्राष्ट्रिय झण्डा पार्कको आज उद्घाटन गरेका हुन । उद्घाटन लगत्तै साे पार्क लायन्सकाे तर्फबाट पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएकाे थियाे ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले लायन्सकाे सहयाेगमा महेन्द्रपुलमा निर्माण गरिएको याे अन्तर्राष्ट्रिय झण्डा पार्कले पाेखरामा अर्काे पर्यटकीय गन्तब्य थपेकाे बताए । यसले पाेखरालाइ अन्तर्राष्ट्रिय जगतमा चिनाउन थप सहयाेग पुग्ने बिश्वास समेत ब्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि, लायन्स इन्टरनेशनलका डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटीले लायन्सले पाेखरा महानगरपालिकासँग मिलेर झण्डा पार्क निर्माण गर्न पाएकाेमा खुसी ब्यक्त गर्दै बिशेष समन्वयकारी भुमिका निभाउने मेयर धनराज आचार्यप्रति सम्पुर्ण लायन्सकाे तर्फबाट आभार प्रकट गरेका थिए । साथै याे नवनिर्मित अन्तर्राष्ट्रिय झण्डा पार्ककाे संरक्षणमा बिशेष ध्यान पुर्याउन आग्रह समेत गरे ।

यसले समाजमा लायन्सलाइ ब्राण्डिङ समेत गरेकाे बताउदै इन्टरनेशनल डाइरेक्टर बुर्लाकोटीले भबिष्यमा पनि स्थानिय सरकारसगँ मिलेर अरू काममा सहकार्य गर्न सकिने बताए।

पार्कमा संयुक्त राष्ट्र संघ, संघका सदस्य राष्ट्रहरु, पोखरा महानगरपालिका, एनआरएनए र पार्क निर्माण सहयोगी संस्था लायन्स क्लब्स अन्तर्राष्ट्रिय गरी १ सय ४७ वटा झण्डा राखिएका छन् ।

झण्डा पार्क समूद्घाटन तथा पार्क हस्तान्तरण समाराेहमा लायन्स मल्टिपल र डिष्ट्रिक्टका अग्रज लिडरहरू, लायन्स सदस्यहरू, पाेखरा महानगरपालिकाका वडा अध्यक्षहरू, महानगरका कर्मचारीहरू र सर्वसाधारणकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर लायन सुचित्रा थापाकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमकाे संचालन डिष्ट्रिक्ट ३२५ एमका प्रथम भाइस गभर्नर लायन चण्डीप्रसाद अर्यालले गरेका थिए ।