धादिङमा बस दुर्घटना : चारको मृत्यु, ३० बढी घाइते

-



     सफल आवाज    
     फागुन २३ गते २०८० मा प्रकाशित



मलेखु, धादिङ०, २३ फागुन । कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ ।

आज विहान भएको सो दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए। उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् ।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।