पोखराको लामाचौरमा गुडिरहेको स्कुल बस माथि विद्युतको पोल ढल्यो

-



     सफल आवाज    
     फागुन २३ गते २०८० मा प्रकाशित



पोखरा, २३ फागुन । पोखराको १९ लामाचौरको भक्ति मार्गमा गुडिरहेको स्कुल बस माथि विद्युत पोल ढलेको छ ।

बुधबार बिहान करिव साढे ९ बजेको समयमा लामाचौरबाट नदीपुरतर्फ आउँदै गरेको न्यु ग्यालेक्सी बोर्डिङ स्कुलको बस माथि विद्युत पोल ढलेको स्कुलका भाईस प्रिन्सिपल राजेश भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार लामाचौरबाट विद्यार्थी लिएर नदीपुरतर्फ आउँदै गरेको ग १ क २३९४ नम्बरको स्कुल बस माथि विद्युतको पोल ढलेको हो । पोल ढलेपछि बिद्यार्थीहरु एकछिन अत्तालिएका थिए । पोल ढले पनि कुनै मानविय क्षेती भएको छैन् ।

विद्युत पोल ढलेपछि त्यस क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । अहिले उक्त पोललाई हटाउने काम भइरहेको नेपाल विद्युत प्राधिकरण मालेपाटन शाखाका सूचना अधिकारी प्रदिप कुमार भुवाजीले जानकारी दिएका छन्।