सतलोक आश्रम धनुषामा एकैदिन ८ नव जोडीहरुको दाइजो रहित विवाह

-



     सफल आवाज    
     चैत्र ११ गते २०८० मा प्रकाशित



धनुषा, ११ चैत। धनुषा जिल्लाको मिथिला न.पा २ काे सतलोक आश्रम धनुषामा जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा सन्त गरीबदासजी महाराजको बोध दिवसको उपलक्ष्यमा चैत्र ६ गते देखि ८ गते सम्मआयोजना गरिएको अमर ग्रन्थ साहेबको अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रम सम्पन्न भएकाे छ ।

साे अवसरमा अनुयायीहरुद्वारा हजारौं युनिट रक्तदान तथा ८ नव जोडीहरुको दाइजो रहित रमैणी विवाह समेत सम्पन्न भएको छ। सन्त गरीबदासजी महाराजलाई वि.सं. १७८३ मा आज कै दिनमा पूर्ण परमात्मा कबीर साहेबजीले जिन्दा बाबाको भेषमा प्रकट भएर भारतको हरियाणा प्रान्त स्थित छुडानी गाउँमा रहेको जण्डी वृक्षको फेदमा बसेर मन्त्र उपदेश दिएकाे भनाइ छ ।

 आश्रममा यसरी गराइएका दाइजो तथा आडम्बर रहित  विवाहमा कुनै किसिमको दाइजो, नगद लेनदेन नभएको र विवाहमा आगन्तुक सबैलाई आश्रम बाटै शुद्ध घ्युमा बनेको हलुवा,लड्डु,बर्फी, जेरी प्रसाद तथा अन्य परिकारहरुको व्यवस्था भोजनको रुपमा गरिएको आयोजकले जनाएको छ।

समाज सुधार र परोपकारका कार्यहरुमा जहिल्यै पनि सन्त रामपालजी महाराजका अनुयायीहरु अग्रसर रहने र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई बढाउँदै लैजानुका साथै समाजलाई छिट्टै नै सर्व विकृतिमुक्त बनाउने दाबी आयोजकले गरेका छन् ।

प्रकाश आरती गरी प्रारम्भ भएको यस कार्यक्रममा नेपाल,भारत भुटान लगायत अन्य विभिन्न देशहरुबाट लाखौंको संख्यामा श्रद्धालुहरुको सहभागिता रहेको थियो। यस अवसरमा विश्वभर ११ वटा  ठूलाठूला आश्रमहरुमा यो कार्यक्रम भइरहेको आयोजकले जनाएको छ। 

गरीबदासजीसँग संबंधित मुख्य घट्नाहरुलाई दर्शाउनका लागि आध्यात्मिक प्रदर्शनी समेत लगाइएको छ । उक्त कार्यक्रममा पुर्व मन्त्री राजलाल यादव,सप्तरी जिल्ला समन्वय समितिका सभापति शिवनारायण साह,उपसभापति शम्भु यादव लगायत थुप्रै विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। विभिन्न सञ्चार माध्यमका साथै सामाजिक सञ्जालहरुमा पनि यस कार्यक्रमको प्रत्यक्ष प्रसारण भएकाे थियाे ।