पदयात्रा र घरवाससँग जोडिदै ठूलास्वाराको पर्यटन

-



     सफल आवाज    
     चैत्र १२ गते २०८० मा प्रकाशित



गण्डकी, १२ चैत । प्राग ऐतिहासिककालको झल्को दिने खालका ठूलाठूला ढुङ्गा, गाउँको शिर माझथुममा परम्परागत ढिकी जाँतो र पर्खालका अवशेषलगायत कारण मादी गाउँपालिका-५ स्थित ठूलास्वाराको छुट्टै पहिचान स्थापित हुँदै गएको छ ।

ठूलो सङ्ख्यामा गुरुङ समुदायको बसोबास रहेको यस गाउँमा अन्य जातजातिका मानिस प्राचीनकालदेखि आपसी सद्भाव र एकता कायम गर्दै बसिरहेका छन् । पर्यटकीय राजधानी पोखराबाट नजिकै रहेको प्रकृति र संस्कृतिले सम्पन्न यो गाउँ तत्कालीन बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेक क्षेत्रमा पर्ने भएकाले यसलाई पदयात्रा पर्यटनसँग जोड्दै विकास गर्ने योजना बनाइएको छ ।

बेलायती राजकुमार चाल्र्स सन् १९८० डिसेम्बरमा पदयात्रा गर्दा ठूलोस्वारा नजिकैको चिन्तेको डाँडा हुँदै पदयात्रा गरेकाले यहाँका स्थानीय सोही बेलादेखि पदयात्रा पर्यटनसँग परिचित छन् । गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक महत्वपूर्ण मार्गका रुपमा ‘रोयल ट्रेक’ रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका पूर्वअध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य टीकाराम सापकोटाले बताए।

राजकुमार चाल्सले पदयात्रा गरेसँगै यस पदमार्गले रोयल ट्रेकका रुपमा चासो र चर्चा कमाएको उनको भनाइ छ । सडक विस्तारका क्रममा राजकुमार चाल्र्स हिँडेको पदमार्ग ठाउँठाउँमा प्रभावित भएका अवस्थामा यसको महत्वलाई जीवन्त राख्नका लागि उहाँ हिँडेको बाटोसँगै आसपासका केही वैकल्पिक मार्ग समेतलाई समेटेर रोयल ट्रेकलाई जीवन्त राख्न खोजिएको उनले बताए।

रोयल ट्रेकसँगै गण्डकी प्रदेशमा विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय, धवलागिरि, मर्दी र सहस्राब्दी पदमार्ग(मिलेनियम ट्रेक) चर्चित पदमार्ग छन् । तल्कालीन समयमा युवराज चाल्र्सले विजयपुरस्थित चाँपको चौरबाट पदयात्रा थाल्नुभएको थियो । उहाँ पहिलो दिन विजयपुरमाथिको चिन्तेको डाँडामा पुगी रात बिताएका थिए।

दोस्रो दिन उनले कालिका, सौरे, लिपयानी, राम्चे, हुँदै स्याक्लुङको डाँडामा पुगी दोस्रो रात बिताएका थिए । तेस्रो दिन रुपाकोटको चिसापानीमा बास बस्नुुभएका चाल्र्स बेगनास तालको जङ्गलमा चौँथोे रात बिताएर काठमाडौँ फर्कनुभएको उल्लेख छ । युवराज चाल्र्सले पदयात्रा गरेको ‘रोयल ट्रेक’को गरिमा र महत्वलाई जोगाउनका लागि आसपासका ठूलास्वारा लगायतका गाउँलाई समेट्दै मार्ग निर्माणको पहल गरिएको सापकोटाको भनाइ छ ।

उनका अनुसार रोयल ट्रेककै रुपमा पोखराको कसेरीबाट थामल्हाम्जा, ठूलास्वारा, चितेपानी, देउमाडी हुँदै ठूलाकोटसम्म एक दिने पदयात्रा मार्गका रुपमा अघि बढाइएको छ । दोस्रो दिन ठूलाकोटबाट स्याक्लुङ, तेस्रो दिन स्याक्लुङबाट चिसापानी र चौँथो दिन चिसापानीबाट बेगनासाताल हुँदै पोखरा फर्कने गरी पदयात्रा मार्ग तय गरिएको सापकोटाले जानकारी दिए।

यस पदमार्गलाई बेगनास चिसापानीबाट स्याक्लुङहुँदै ठूलाकोट, भैँसे, थाक, पार्चे हुँदै सिक्लेस जोडेर लम्ब्याउन पनि सकिने उनको भनाइ छ । रोयल ट्रेकअन्तर्गतका गाउँमा पछिल्लो समयमा पदयात्रालाई घरवाससँग जोड्दै पर्यटकीय विकास बढाउन स्थानीयवासीले पनि पहल थालेका छन् । स्थानीयवासीको जागरुकतासँगै पदमार्ग क्षेत्रस्थित मादी गाउँपालिका-५ ठूलास्वारामा दुई वर्षदेखि घरवास(होमस्टे) सञ्चालनमा ल्याइएको मादी गाउँपालिका होमस्टे महासङ्घका अध्यक्ष भीम गुरुङले बताए ।

“यहाँका पाँचवटा घरमा होमस्टे सञ्चालनमा ल्याइएको छ”, उनले भने, “पोखराबाट छोटो दुरीमा रहेको यस ठाउँमा हामीले प्रत्येक दिन ४० जनासम्म पर्यटक राख्न सक्नेगरी पूर्वाधार विकास गरेका छाै ।” पर्यटकका साथै विभिन्न सङ्घ संस्थाका कार्यक्रम, तालिमलगायत सञ्चालन गर्नका लागि ठूलास्वारा तमु समाजको सक्रियतामा सामुदायिक भवन समेत निर्माण गरिसकिएको छ ।

गाउँको ऐतिहासिकता झल्काउने प्राग ऐतिहासिक कालदेखि नै रहेको अनुमान गरिने ठूलाठूला ढुङ्गाहरू, माझथुमा डाँडामा रहेका ढिकी, जाँतो, प्राचीन पर्खाल आदिका अवशेषका कारण यस ठाउँको पुरातात्विक महत्व रहेको गुरुङको भनाइ छ । बाइसे चौबिसे राजाका पालामा रहेको घोडा लुकाउने ठाउँ, राजाहरू बस्ने बस्ने रानी ओढार आदिलाई पनि पर्यटनसँग जोड्ने आँफूहरूको लक्ष्य रहेको उनले बताए।

घरवासमा आएका पर्यटकलाई स्थानीयवासीले परम्परागत पोशाकमा सजिएर स्वागत गर्ने गर्दछन् । घरवासमा पुगिसकेपछि चियासँगै स्थानीय उत्पादन मकै, भट्टलगायत स्थानीय परिकारका स्वाद लिने पर्यटकले बेलुका प्राङ्गारिक उत्पादनकै खाना खान पाउँछन् । बेलुकी स्थानीय ठूलास्वारा आमा समूहको सांस्कृतिक प्रस्तुति पनि अवलोकन गर्न पाइन्छ । घरवासहरूमा पर्यटकलाई सुत्नका लागि चटक्क मिलाइएको सफा विस्ताराको व्यवस्था गरिएको छ ।

घरवासमा आएका पर्यटकलाई यथासक्य स्थानीय उत्पादन खुवाउन प्रयास गरिनु यहाँको विशिष्टता हो । यहाँको घरवासमा गाउँमा नै उत्पादन भएका कृषिजन्य वस्तुको खपत भइरहेको चितेपानी देउराली आमा समूहका अध्यक्ष सावित्री सापकोटाले जानकारी दिइन। ठूलास्वाराको पर्यटकीय सम्भावनालाई उजागर गर्न गाउँ पर्यटन प्रवर्द्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशले प्राथमिकतामा राखेको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले बताइन ।

“गाउँको पर्यटन प्रवर्द्धनका लागि हामीले हालै पर्यटनसम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी सहितको गाउँ परिचयात्मक भ्रमण सम्पन्न गरेका छौँ”, उनले भनिन्, “पर्यटकीयन राजधानी पोखरा नजिकै रहेको ठूलास्वारा पर्यटकीय दृष्टिबाट धेरै सम्भावना बोकेको स्थान हो ।”

ठूलास्वारालाई पर्यटनसँग जोड्न सकिने धेरै सम्भावना रहेको बताउने मादी गाउँपालिकाका अध्यक्ष देवीजङग गुरुङले प्रकृति र संस्कृतिको उपयोगसँगै स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । ठूलास्वाराको पर्यटकीय विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेकोे उनको भनाइ छ ।

ठूलास्वारालाई पोखराबाट एक दिने हाइकिङको गन्तव्यका रुपमा पनि विकास गर्न सकिने देखिएको हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले बताए। यस क्षेत्रलाई हाइकिङको गन्तव्यका रुपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आगमन थप बढ्ने उनको भनाइ छ ।