जसले परम्परागत प्रणालीको वाणिज्य बैंकलाई प्रविधिमैत्री बनाए

-



     विनय शर्मा    
     चैत्र २६ गते २०८० मा प्रकाशित




काठमाडौं । नेपालको हकमा सरकारी बित्तिय संस्थामा दोहोर्याएर कार्यकारी तहकाे नेतृत्व गर्ने कमै ब्यक्तित्व भेटिन्छन्। पछिल्लाे समय व्यक्तिको क्षमता भन्दा पनि दलीय आबद्धता बलियो प्रमाणपत्र बन्न थालेपछि विभिन्न संघ–संस्थामा दल निकटका व्यक्तिहरू विज्ञ भन्दा अगाडीको लाइनमा उभिने गरेका प्रशस्तै उदाहरण छन।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका अहिलेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठ लगभग दुर्लभ मध्येका एक ब्यक्ती हुन्, जो आफ्नै क्षमताका कारण दुई कार्यकाल सीईओ बन्न सफल भए। उनी यतिखेर लगातार २ कार्यकाल सीईओकाे जिम्मेवारी पुरा गरेर यही चैतभित्र शानदार बिदाइ लिने तयारीमा छन् । सफल आवाजको नियमित श्रृंखला “सफल प्राेफाइल” को यो अंकमा हामी उनै श्रेष्ठको सफलताको अनुभुतिहरू प्रस्तुत गर्दैछौं ।

वि.सं २०१४ साल असार २३ गते संखुवसभाको चैनपुरमा सामान्य किसान परिवारमा श्रेष्ठ जन्मेका हुन् । ११ औँ सन्तान मध्ये छैटौं सन्तानका रुपमा जन्मिएका श्रेष्ठले बाल्यकाल संखुवासभामै बिताए । दियालो र टुकी बत्तिको भरमा स्कुल पढेकाे श्रेष्ठलाई अहिले पनि गहिराे सम्झना छ । ‘घरबाट धरान आउनमात्रै ४ दिन लाग्थ्यो’ श्रेष्ठ भन्छन्, ‘यातायातका साधनका कुरा त छाडौं उसबेला हिँड्नका लागि सजिलो बाटो समेत थिएन ।’ कतिलाई विश्वास नलाग्न पनि सक्छ, तर पहिलो पटक मोटर देख्दा उनी १६ वर्षे तन्नेरी भैसकेका थिए ।

भुगोलका हिसाबले दुर्गम भएपनि शिक्षाको सवालमा ‘क्रान्तिकारी’ थियो चैनपुर । राणा कालमै खुलेको थियो सरस्वती माध्यमिक विद्यालय। सोही विद्यालयबाट २०२९ सालमा एसएसलसी उत्तिर्ण गरेका श्रेष्ठले क्याम्पस पढ्न काठमाडौं आउने सिलसिलामा पहिलो पटक मोटर देखेका थिए ।

घरबाट एकमाने ताउलो, डाडु पन्यु, थाल, कचौरा र केही सामल बोकेर उच्च शिक्षा लिन शहर छिरेका श्रेष्ठले बैंकिङ क्षेत्रमै करिअर बनाउँला भनेर सोचेका पनि थिएनन् । तर उनकाे अध्ययन र दृढताले उनलाइ त्यँहासम्म पुर्यायाे ।

त्याे समयमा कलेज पढ्दा उनको बढि संगत राजनीति गर्नेहरुसँग हुन्थ्याे। सानो ठिमी क्याम्पसमा बि कम पढ्दै गर्दा पञ्चायतकाल उत्तरार्धमा थियो । पञ्चहरु कसरी आफ्नो शासन टिकाउने भन्नेमा थिए भने प्रजातन्तत्रवादीहरु कसरी यो व्यवस्था ढाल्ने भन्नेमा । विद्यार्थीहरु सबै भन्दा बढी सक्रिय थिए पञ्चायत बिरुद्धकाे अभियानमा । भिम रावल, देब गुरुङ, राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, विमलेन्द्र निधी, मिनेन्द्र रिजाल, टंक कार्की, हरि रोक्कालगायतसँग उनको दोस्ती थियो । धेरै पटक ति नेताहरुसँगै मिटिङमा समेत बसे । चीनका पूर्वराजदुत समेत रहेका कार्कीसंग उनको अहिले पनि बाक्लै भेटघाट हुन्छ । तर, अन्य दलका सक्रिय नेताहरुसंग खासै उठबस छैन ।

पञ्चायत बिरुद्ध दलिय गतिविधि बढ्दै गर्दा किरण दोहोरो भुमिकामा थिए । एकातिर विद्यार्थी संगठनका नेताहरुसँग मिटिङ गर्थे अर्कोतिर करिअरको खोजिमा अध्ययन । त्यसबेला जागिर खोज्ने क्रममा उनी एकपटक नेपाल बैंकमा आवेदन दिन पुगे । वि.सं २०४३ साल भदौमा नेपाल बैंकमा सहायक मेनेजर पदमा छैटौं तहको अधिकृतमा नाम निकाले । त्यसपछि राजनीतिज्ञसँग उनको सम्बन्ध लगभग अन्त्य भयो । उनी भन्छन् ‘यदि म बैंकर नभएको भए राजनीतिज्ञ हुन्थे ।’ बैंकमा जागिर सुरु भएपछि राजनीतिक यात्रामा पूर्णबिराम लागेको सीईओ श्रेष्ठ बताउछन् ।

जनप्रशासन क्याम्पसको पहिलो व्याचको स्नातकोत्तर श्रेष्ठ पूर्वाञ्चल इन्जिनियरिङ कजेल धरानको स्थापना कालको योजना अधिकृत रहेका थिए । नेपाल परिवार नियोजन संघमा एक वर्ष अधिकृत पनि भए । २०५१ सालमा सुदुरपश्चिम ग्रामिण विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएका उनी नेपाल बैंकको कर्जा असुली विभागको उप प्रमुख, प्रमुख नायब महाप्रबन्धक हुँदै महाप्रबन्धक हुन सफल भए भने ०७१ मा अनिवार्य अवकास पाए ।

अवकासपछि पनि उनको सक्रियता घटेन । नेपाल इन्स्योरेन्स, आरएमडिसीलगायतका कम्पनीका सञ्चालक समिति सदस्य भएका श्रेष्ठ २०७२ सालमा खुल्ला प्रतिस्पर्धाबाट वाणिज्य बैंकको सीईओ नियुक्त भए ।

वाणिज्य बैंकमा ४ वर्ष काम गरेपछि २०७६ मा उनको कार्यकाल सकियो । सामान्य त एउटा कार्यकाल सकिएपछि दोहोरिने सम्भावना हुँदैन । श्रेष्ठ त्यस्ता प्रभावशाली व्यक्ति ठहरिए । फेरि अर्को ४ वर्ष कार्यकाल थपियो । यहि बिचमा ‘मेनेजर अफ द इयर’ अवार्ड समेत पाएका श्रेष्ठले ६० वर्ष पुरानो सनातनी छवी भएको वाणिज्य बैंकलाई आधुनिक बनाउन लागिपरेका थिए । जुन कुरा अहिलेकाे राष्ट्रिय बाणिज्य बैककाे प्रगतिबाटै स्पष्ट हुन्छ ।

वाणिज्य बैंकमा यो आमूल परिवर्तन आउनुको श्रेय वित्तीय क्षेत्र सुधार कार्यक्रमलाई दिन्छन् । नेपालमा सन् २००२ देखि यो वित्तीय क्षेत्र सुधार कार्यक्रम सुरुवात भएको थियो । वित्तीय क्षेत्र सुधार कार्यक्रमको निरन्तरतामा छन् श्रेष्ठ । राष्ट्रिय वाणिज्य बैंककै कुरा गर्ने हो भने वित्तीय क्षेत्र सुधार कार्यक्रमले ३–४ वटा सेक्टरमा ठूलै काम गरे झैं लाग्छ उनलाई ।

वाणिज्य बैंकको निस्क्रिय कर्जा (एनपिएल) घटाउनमा सीईओ श्रेष्ठको भुमिका उत्तिकै धेरै छ । ‘कुनैबेला हाम्रो बैंकको एनपीए ५८ प्रतिशत थियो, हामी अहिले कल्पना पनि गर्न सक्दैनौँ । कुनैबेला ५८ प्रतिशत एनपीए थियो भन्दा मलाई पनि लाज लाग्छ’ श्रेष्ठले भने ।

आन्तरिक कन्ट्रोल सिस्टम र गभर्नेन्सको इस्यू पनि थियो । त्यो पनि उनकै पालामा समाधान भयो । परम्परागत प्रणालीलाई प्रविधिमा स्थानान्तरण गर्न त्यति सहज थिएन । ढड्डामा चलेको बैंकलाई प्रविधिमैत्री बनाउन प्रविधि किनेर मात्रै सम्भव थिएन । कार्यरत कर्मचारीको क्षमता विकासका लागि उस्तै धेरै मेहनतको जरुरी थियो । जुन कुरा प्रमाणित गरेरै देखाए ।

अहिले राष्ट्रिय बाणिज्य बैकका कुनैपनि शाखाहरुकाे कुनैपनि कारोबार म्यानुअल सिस्टमबाट चल्दैनन् । सफ्टवेयरमै इन्ट्री हुन्छ, प्रविधिबाटै। सुविधा सम्पन्न शहर बजारका शाखाहरुको कुरा छाडौं दुर्गम क्षेत्र जहाँ बिजुली बत्तिको पहुँच छैन । सोलारको माध्यमबाट पनि प्रविधिमैत्री बनेको छ राष्ट्रिय वाणिज्य बैंक ।

सरकारले वित्तीय पहुँचको कुरा गरिरहँदा व्यवहारमा त्यति सजिलो थिएन । कतिपय ग्रामिण क्षेत्र यस्ता पनि थिए जहाँका मान्छेलाई बैंक के हो भन्ने समेत थाहा थिएन । नेपाल सरकारले ७ सय ५३ पालिकामा बैंकका शाखाहरु पुग्नुपर्छ भनेपछि श्रेष्ठले पहल शुरू गरे । श्रेष्ठकै पहलमा तत्कालिन २८ वटा बैंकबीच सबै स्थानीय तहमा शाखा खोल्ने समझदारी भयो ।

सरकारको निती कार्यान्वयन गर्ने पहिलो दायित्व सरकारी बैंकहरुकै भएपनि दुई वर्षभित्रमै सबै ठाउँमा शाखा सम्भव थिएन । त्यही कारण अर्को भद्र सहमति भयो निजी र सरकारीले ठाउँ भाग लगाएर शाखा खोल्ने । साेही अनुसार बैककाे क्षेत्र बिस्तारलाइ अघि बढाइ हाले ।

राष्ट्रिय बाणिज्य बैकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २ सय ८४ वटा शाखा कार्यालय छन । ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्युआर कोड सेवा, पिओएसलगायतका सेवाहरु समेत सञ्चालनमा रहेका छन ।

बैंकिङ क्षेत्रमै करिअर बनाउन चाहने युवा पुस्तालाई सुझाब दिदैं सीईओ श्रेष्ठ भन्छन- ‘एउटा बैंकरका लागि इन्टिग्रेटी सबैभन्दा महत्वपूर्ण कुरा हो। बैकर बन्ने हो भने अध्ययनशील, लगनशिल र गम्भिर हुनैपर्छ।

यति लामाे क्रियाशिलताले जिवनमा धेरै कुराकाे अनुभुति गरेकाे श्रेष्ठ बताउछन। बैंकिङ क्षेत्रमा करिअर बनाउदै गरेका युवापुस्ताका लागि श्रेष्ठकाे जिवनयात्रा एउटा पाठशाला जस्तै भएकाे छ। त्यतिमात्र हाेइन, असल र सक्षम ब्यक्तित्व बन्न जन्मस्थानले कुनै फरक नपार्ने तर कर्ममा लागिरहदा सफलताले नै पच्छ्याउछ भन्ने गर्बिलाे उदाहरण बनेका छन् बैकर किरण कुमार श्रेष्ठ।