कास्कीकाे रुपा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू

-



     सफल आवाज    
     वैशाख ४ गते २०८१ मा प्रकाशित



पोखरा, ४ बैशाख। रुपा गाउँपालिकाले सञ्चालनमा ल्याएको २५ शय्याको रूपा अस्पतालमा स्वास्थ्य बिमा लागू हुने भएको छ । सोमबार रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा र स्वास्थ्य बिमा बोडका कार्यकारी निर्देशक डा. दामोदर बसौलाबिच स्वास्थ्य बिमा लागू गर्ने बिषयकाे सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ ।

अस्पतालका अध्यक्ष लालसुब्बा गुरूङकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले अबकाे १ महिनाभित्रै स्वास्थ्य बिमा लागू गर्ने जानकारी दिएका थिए ।

कार्यक्रममा रुपा गाउपालिकाका वडा नं. ६ क वडा अध्यक्ष , स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक महेश प्रसाद ठाकुर , अस्पतालका डा. सुभास सुबेदी, अस्पताल प्रमुख युवराज श्रेष्ठ ,पालिकाका कर्मचारीहरु,स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय कास्कीका जिल्ला संयोजक जमुना देवी सापकोटा र अस्पतालका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

केहि दिन अघि कास्की जिल्लामा रहेका संक्रामक तथा सरुवा रोग अस्पतालले स्वास्थ्य बीमा बोर्डको आठौ बार्षिकोत्सबको अबसरमा स्वास्थ्य बीमा बोर्डसँग सेवा सम्झौता गरेको थियो ।

साे अस्पताल रूपा गाउँपालिकाको फालभन्ज्याङमा रहेकाे छ । अस्पताल बन्नुअघि गाउँपालिकामा स्वास्थ्य चौकीहरु मात्र थियाे । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सबै स्थानीय तहमा १५ शय्याको अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था अनुसार गाउँपालिकामा अस्पताल निर्माण गरेको थियो । अस्पताल २५ रोपनीमा क्षेत्रफलमा रहेकाे छ ।

संघीय सरकारबाट प्राप्त १८ करोड र गाउँपालकाकाे ४ करोड लगानीमा उक्त अस्पताल बनेकाे बताइएकाे छ। त्यसअघि गाउँपालिकामा स्वास्थ सेवा लिन लामो दुरीको यात्रा गरेर पोखरा नै आउनुपर्ने बाध्यता छ । रुपाले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सञ्चालित भएपछि पालिकाबासीले सेवा सुविधा लिँदै आएका छन् ।

हाल अस्पतालले १३ वटा बहिरंग, प्रसूति, हाडजोर्नी, जनरल ल्याब, एक्सरे, भिडियो एक्सरे सहितका आधारभूत सेवा दिइरहेको छ ।