विद्युत उत्पादनमा अग्रणी बन्दैछ ताप्लेजुङ

-



     सफल आवाज    
     वैशाख ६ गते २०८१ मा प्रकाशित



ताप्लेजुङ, ६ वैशाख । ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा विद्युत आयोजना निर्माणाधिन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा मात्रै निर्माणाधिन रहेका छन् ।

ती आयोजनाबाट १ हजार ६ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ। मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट ४ जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट १ सय ७८ दशमलव ४२ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

काबेली खोलामा ४ वटा आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट बिजुली उत्पादन हुनेछ । यसैगरी,पालुङखोलामा निर्माणाधीन २ आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुनेछ । सोना खोलामा हिमाली हाइड्रोपावरले ९ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ । सिदिङवा गाउँपालिका–१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले ४ दशमलव ६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको बताइएकाे छ ।