कुमुदिनी माविमा चर्या नृत्य प्रशिक्षण समापनसंगै विद्यार्थीकाे प्रदर्शन

-



     सफल आवाज    
     वैशाख २८ गते २०८१ मा प्रकाशित



पाेखरा, २८ वैशाख । कुमुदिनी होम्स माध्यमिक विद्यालय गैह्रापाटन, पोखराको आयोजनामा भएको चर्या नृत्य प्रशिक्षण सम्पन्न भएकाे छ।

प्रशिक्षण लिएका क्षा १ देखि १० कक्षा सम्मका विद्यार्थीलाई दुई समूह गराई चर्या नृत्य प्रदर्शन गरी शुक्रबार एक कार्यक्रमबीच समापन गरिएको हो । प्रशिक्षण लिएका विद्यार्थीहरुले भविष्यमा अरुलाई पनि चर्या नृत्यकाे प्रशिक्षण दिने उद्देश्य राखेर प्रशिक्षण दिइएको हो ।

चर्या नृत्यको जुनियर तर्फ ग्रासी गुरुङ, सोवीया परियार, मिस्टी सुनार, गृहना गुरुङ, नेन्सी लगायत रहेका छन् । यसैगरी सिनियर तर्फ आरुसी सुवाल, सारा श्रेष्ठ, आयश्वरी श्रेष्ठ, दिवास्ना पुन र कस्मीन मगर रहेका थिए।

काठमाडाैंबाट प्रशिक्षण दिन आएका प्रशिक्षक चर्यामा ४ दशक बिताएका चन्द्रमान मुनिकारले ढाट्न चोर्न, लागुऔषध सेवन गर्न नहुने, हत्या, हिंसा गर्न नहुने र झुटो बोल्न नहुने कुराहरुलाई मनन् गरेर चर्या नृत्य सप्त तारा नृत्य सिकाइएकाे बताए ।

चर्या नृत्य सप्त तार नृत्य जगतको हित र भलो गर्ने विश्वास रहेकाे छ । विद्यालयका संस्थापक अध्यक्ष अशाेक पालिखेले चर्या नृत्य नेपालकाे माैलिक जिवन्त नृत्य भएकाेले यसकाे जगेर्ना गर्न जरुरी भएकाे बताए । उनले भने, यसैकाे संरक्षणका लागि प्रशिक्षण दिइएको हाे । पालिखेले हामीले हाम्रा माैलिक संस्कार, संस्कृतिहरू भुल्नु हुँदैन । हरेक समुदाय संस्कृति, संस्कारकाे संरक्षणका लागि लाग्नुपर्छ ।

उनले भने, हामीले विद्यार्थीका लागि पढाइसंगै सामाजिक सेवा, उत्तरदायीत्व कसरी बहन गर्ने लगायतका अतिरिक्त क्रियाकलापमा संलग्न बनाइरहेका छाैं । विद्यालयमा घाटु, छ्याडु, मारुनी लगायतका नृत्यहरु नचाउने गरिएकाे उनले बताए । कार्यक्रममा कक्षा १ देखि १० कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

चर्या’काे नै प्रशिक्षण किन गरियाे ?

परापूर्व कालबाटै बौद्ध धर्मका बज्रयानी बज्राचार्य गुरुहरुले पूजाको कोठामा चर्या नाच्दै आएका भन्ने गरिएको छ । यो नृत्य साना बालबालिका, युवा र प्रौढसम्म लोकप्रिय रहेको छ ।

हाम्रो संस्कार, संस्कृतिलाई आफैंमा सिमित गर्दा हराउने भएकोले यसलाई अहिले विश्व बजारमा पनि लगेर देखाउने गरिएको छ । यो नेपालको मौलिक शास्त्रीय नृत्य भएको र यसको गीत संस्कृतमा गाउने गरिन्छ । यसलाई परमार्थ सत्य आत्मसाथ गर्ने कावयरुपी संगीत साधनासंग पनि जोडिएको छ ।

संस्कृतविद् सत्यमोहन जोशीकाे पुस्तक “बःचाधंगु नेवाः खँग्वः धुकु” मा चर्याको बारेमा बयान गरिएको छ । चर्याकाे अर्थ नेवार समुदायमा बौद्ध महायानीहरुको गुह्य पूजा हुने समयमा गाईने धार्मिक शास्त्रीय गीत भनेर लेखिएको छ ।

चर्याका केहि निश्चित आधारभूत पदज्ञान र आसन हुन्छन् । तिनिहरुमा समपद, बज्रपद, मण्डलापद, त्रिभुपद, प्रत्यालिंधपद, आलिंधपद र नमामीपद गरी सात वटा रहेका छन् ।

चर्या नृत्यको मौलिक महत्व छ । यो नेपाली संस्कृतिको विशिष्ट नमूना र जिवित सम्पदा हो भन्ने गरिएको छ । चर्याको विशेषता भनेको यसकाे संसारका कुनै पनि नृत्यसंग मेल खाँदैन । यो रागबाट सुरू भएर श्वलोकमा पुगेर टुंगिन्छ । यो सांगीतिक रस अन्तर्गत नाच्ने नृत्य हाे ।