कांग्रेस संसदीय दलको बैठक बस्दै

-



     सफल आवाज    
     वैशाख ३१ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज दिउँसो १ बजे संसदीय दलको कार्यसमितिको बैठक र दिउँसो २ बजे संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए ।

बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा राजनीतिक घटनाक्रम र समसामायिक विषयमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए ।

पछिल्लो समय सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । संसद्को बजेट अधिवेशन सुरु भएको र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले अब पार्टी कसरी अगाडि बढ्ने भन्नेबारेमा बैठकमा छलफल हुने बताइएको छ ।

कांग्रेसले सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ । यसैबीच, आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोध हटाउन कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए ।