राष्ट्रिय युवा संघ नेपाल कास्कीको संयोजकमा शंकर पौडेल

-



     सफल आवाज    
     जेठ ५ गते २०८१ मा प्रकाशित



पाेखरा, ५ जेठ । राष्ट्रिय युवा संघ नेपाल कास्कीको ११ औं जिल्ला अधिवेशन २०८० माघ १२ गते उद्घाटन सत्र अन्त्य भई नेतृत्व चयनको प्रक्रिया सुरु भएपछि प्रतिनिधिको विषयमा विवाद उत्पन्न भई अधिवेशनको बन्द-सत्र स्थगित भएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल, केन्द्रीय पदाधिकारी बैठक २०८१ वैशाख ३१ गते सोमबार बसेको र बैठककाे निर्णय बमोजिम कास्की जस्तो महत्वपूर्ण जिल्लामा संगठनको कमिटीलाई निष्कृय राख्न नसकिने र कमिटीलाई नियमित काममा फर्काउनु पर्ने परिस्थितिको मूल्याङ्कन गर्दै जिल्ला कमिटी कास्कीको काम व्यवस्थापन गर्नका लागि तत्कालीन कमिटीका उपाध्यक्ष शंकर पौडेलको संयोजकत्वमा जिल्लाका ५ पालिका कमिटी अध्यक्षहरूसहित ३ निर्वाचन क्षेत्रवाट १/१ जना महिलाको ३३ प्रतिशत महिला सहभागिता अनिवार्य बनाई प्रतिनिधित्व रहने गरी ९ सदस्यीय आयोजक कमिटी बनेको छ ।

पत्रको मिति अनुसार ३ महिनाभित्र सम्मेलन सम्पन्न गर्न केन्द्रिय कमिटीले निर्देशन गरेको छ । केन्द्रीय पदाधिकारीको बैठकको निर्णय कार्यान्वयन गर्न गराउन संगठनका सम्पूर्ण नेता कार्यकर्ताहरुमा निर्देशन गरिएको छ ।

अधिवेशन सम्पन्न गर्नका लागि पालिकाका अध्यक्षहरू आयोजक कमिटी सदस्य रहने छन् । पोखरा महानगरपालिकामा प्रदिप गुरुङ, मादी गाउँपालिकामा उमेश गुरुङ, रुपा गाउँपालिका सुजन श्रेष्ठ, माच्छापुछे गाउँपालिकामा दल बहादुर लामिछाने, अन्नपूर्ण गाउँपालिकामा शिव सुवेदी, महिला सदस्यहरुमा निर्वाचन क्षेत्र नं. १ मा करिया बराल, निर्वाचन क्षेत्र नं. २ मा रिना थापा, निर्वाचन क्षेत्र नं. ३ मा सुवानी पौडेल लाई जिल्लाको आयोजक कमिटी सदस्य रहने महासचिव सुजन पुरीद्वारा हस्ताक्षर भएको केन्द्रको पत्रमा उल्लेख गरिएको छ ।