महालक्ष्मी विकास बैंक ३० औं वर्षमा प्रवेश

-



     सफल आवाज    
     जेठ ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ जेठ । महालक्ष्मी विकास बैंक लि. सोमबारदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ । साे अवसरमा बैंकले वित्तीय साक्षरता र्याली तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङखला ३ लगायत विभिन्न कार्यक्रमहरु गरी ३० औँ वार्षिकोत्सव सम्पन्न गरिने बैकले जनाएकाे छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते, आइतबार आठ शाखा कार्यालयहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २ सय ९५ पिन्ट रगत संकलन गरेको थियाे । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।

त्यस्तै केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा जेष्ठ ५ गते, शनिबार बिहान ७ः३० देखि ८ः३० बजेसम्म वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

बैंकले जेठ ७ गते सोमबार केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानिय भेषभूषामा बैकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको बताइएकाे छ ।

बैककाे केन्द्रीय कार्यालय दरबारमार्गमा जेठ ८ गते स्वास्थ्य शिविर र जेठ ९ गते आँखा शिविर सञ्चालन गरिने तयारी रहेकाे छ भने विगत २ बर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको तेस्रो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङखला ३) १६ टिमको सहभागितामा बैैंकले जेठ २२, २३ र २४ गते सञ्चालन गर्नेछ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १ सय ३ वटा शाखा कार्यालयहरु र ७ लाख भन्दा बढी ग्राहकहरु रहेकाे जनाइएकाे छ ।