राष्ट्रिय सम्पदाको अध्यक्षमा ठाकुर, टेकनाथलाई मरणोपरान्त सम्मान

-



     सफल आवाज    
     जेठ १२ गते २०८१ मा प्रकाशित



पाेखरा, १२ जेठ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले २६ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनमा संस्थापक अध्यक्ष टेकनाथ बराललाई राष्ट्रिय सम्पदा मानवअधिकार सम्मान प्रदान गरेको छ । गत वर्ष निधन भएका बराललाई मरणोपरान्त सम्मान गरिएको हो ।

टेकनाथकी श्रीमती हरिकला र छोरा विद्याविमलले सम्मानपत्र ग्रहण गरे । उनीहरुलाई संस्थाका अध्यक्ष सुनिल पाण्डे, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रमुख मायादेवी शर्मा लगायतले सम्मान गरेका हुन् । कार्यक्रममा आयोग गण्डकी प्रमुख शर्माले अधिकारकर्मी बराललाई मानवअधिकार आयोग केन्द्रले नै सम्मान गरिसकेको स्मरण गरिन् ।

‘उहाँ आयोग केन्द्रबाटै सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो, राष्ट्रि सम्पदासँग मानवअधिकारको रक्षा र प्रवद्र्धनमा हामीले सहकार्य गर्दै आएका छौं, भविष्यमा पनि सहकार्य अझ मजबुत हुने अपेक्षा गरेकी छु,’ उनले भनिन् । संस्थाको अधिवशेनले ठाकुरप्रसाद बरालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ ।

उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, महासचिव दिलीप दोषी, सचिव विन्ध्येश्वरी बराल र कोषाध्यक्षमा कमलप्रसाद न्यौपाने छन् । सदस्यमा श्रीराम आचार्य, अर्जुन भण्डारी, त्रिभुवनप्रसाद बराल, अनिल थापा, कल्याण पन्त, वीनिता अधिकारी, सुशीला त्रिपाठी, शौरभ देवकोटा र मिलन प्रतीक निर्वाचित भएका छन् ।

संस्थाका अध्यक्ष सुनिल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक तिलक पराजुली, संस्थाका पूर्वअध्यक्ष भवानीप्रसाद पाण्डे र रामबहादुर पौडेल, मानवअधिकारकर्मी खगराज आचार्य, पोखरा ६ का अध्यक्ष विष्णु बहादुर भट्टराई, संस्थाकी उपाध्यक्ष निर्मला कोइराला, सम्मानित व्यक्तित्व टेकनाथका छोरा विद्याविमल बराल, माछापुच्छ्रे महिला क्लबकी अध्यक्ष गीता पौडेल लगायतले बोलेका थिए ।

विष्णुहरि अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन समितिमा वसुन्धरा ढकाल र निर्मला कोइराला सदस्य थिए ।