अल्फा बोर्डिङ स्कुलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

-



     सफल आवाज    
     जेठ १४ गते २०८१ मा प्रकाशित




पोखरा, १४ जेठ । पोखरा –१६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा विद्यार्थीहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराई सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने मूल उद्देश्यका साथ जेठ ११ गते शुक्रबारका दिन अन्तरसदनात्मक नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे छ ।

तीन तहमा सञ्चालित उक्त कार्यक्रममा कक्षा ४ र ५ तर्फ कक्षा ४ ՙ ख ’ मा अध्ययनरत छात्रा अङ्किता गौतम प्रथम, ५ ՙ ख ’ का छात्र आयान गौतम द्वितीय, कक्षा ५ՙ क’ की छात्रा इसा नेपाली द्वितीय र कक्षा ५ՙ क’ का छात्र दिप्सन थारु सान्त्वना भएका छन् ।

कक्षा ६, ७ र ८ तर्फको प्रतियोगितामा कक्षा ६ मा अध्ययनरत छात्रा रिहाना थापा प्रथम, कक्षा ८ मा अध्ययनरत छात्रा जेनिसा गुरुङ द्वितीय, कक्षा ८ मा अध्ययनरत छात्रा सुप्रेना पुन तृतीय र कक्षा ८ मा अध्ययनरत छात्रा सञ्चिता वि.क. ले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए भने कक्षा ९ र १० का विद्यार्थीहरु बिच भएको प्रतिस्पर्धामा कक्षा १० मा अध्ययनरत छात्रा सुइच्छा गुरुङ प्रथम, कक्षा १० मा अध्ययनरत छात्रा नसिव पुन द्वितीय, कक्षा ९ मा अध्ययनरत छात्र अभिषेक श्रेष्ठ तृतीय र कक्षा ९ मा अध्ययनरत छात्रा सुवर्ण के. सी. ले सान्त्वना स्थान हासिल गर्न सफल भए ।

विजयी विद्यार्थीहरुलाई हौसला बढाउन १४ गते सोमबारको बिहानीको प्रार्थना सभामा प्राचार्य सुरेन्द्र मानसिंह भण्डारी , कार्यकारी निर्देशक दिपक गुरुङ, सह प्रचार्य कृष्ण लम्साल एवम् प्रशासक निराजन थापाद्वारा पुरस्कार वितरण गरिएको थियो । नेपाली विभागद्वारा आयोजना गरिएको उक्त कार्यक्रम नेपाली भाषा शिक्षक भारती गौतमको संयोजकत्वमा सम्पन्न गरिएको थियो भने पुरस्कार वितरण कार्यक्रम सह – क्रियाकलाप संयोजक सफलता बमजमबाट सञ्चालन भएको थियो ।