अब महिला ट्राफिकले महिनावारीका बेला सडकमा खटिनु नपर्ने

-



     सफल आवाज    
     जेठ १६ गते २०८१ मा प्रकाशित



काठमाडौँ, १६ जेठ । अब महिला ट्राफिक प्रहरीले महिनावारी भएकाे बेला सडकमा खटिनु नपर्ने भएकाे छ । गृह मन्त्रालयले महिनावारी भएकाे बेला ट्राफिक प्रहरीलाई ४ दिन सडकमा खटिनु नपर्ने निर्णय गरेकाे हाे ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयको निर्देशनअनुसार गृहमन्त्रीस्तरीय उक्त निर्णय सोही दिनदेखि कार्यान्वयन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताएका छन । हाल उपत्यकाभित्र २ सय १३ जना महिला ट्राफिक प्रहरी कार्यरत छन् ।

थापाथली ट्राफिक प्रहरी वृत्तमा सबैभन्दा धेरै १७ जना महिला ट्राफिक खटिएका उनले जानकारी दिए । ट्राफिक महिलाले महिनावारीका बेला ४ दिन सडकमा खटिनु नपर्ने निर्णयको महिला ट्राफिक प्रहरीले स्वागत गरेका छन् । थापाथली वृत्तकी अञ्जु नेपालीले सरकारको उक्त निर्णयबाट आफूहरूलाई ठूलो राहत हुने बताइन् ।

यसैबीच, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सङ्केत वत्ती, गति सीमितलगायत सवारी नियम उल्लङ्घन गर्नेहरूलाई भविष्यमा त्यस्ता गल्ती दोहोरिन नदिने उद्देश्यले ट्राफिक प्रहरीसँगै उनीहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाइने निर्णय भएकाे छ ।