एसओएस पोखरामा सचेतनामूलक कार्यक्रम सम्पन्न

-



     सफल आवाज    
     जेठ २४ गते २०८१ मा प्रकाशित



पोखरा, २४ जेठ । विश्व वातावरण दिवस पारेर पोखरा १७ छोरेपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुल पोखराले वातावरणीय सचेतानामूलक कार्यक्रम र वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयको आधारभूत तहको संयोजन तथा सामाजिक विषय शिक्षक शिक्षिकाको अगुवाइमा विद्यालय हाताभित्र सचेतनामूलक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै विद्यालयका प्राचार्य फुर्बु थिन्लेले वातावरण जोगाउनु हामी सबैको सझा दायित्व भएको हुँदा यसमा विद्यार्थीको महत्त्वपूर्ण भूमिका हुने बताए ।

किताबी ज्ञानमा मात्रै सिमित नरहि सहक्रियाकलाप र नेतृत्वदायी कार्यक्रमले विद्यार्थीको चौतर्फी विकास हुने भन्दै उनले यस्ता कार्यक्रकमले विद्यार्थीमा आत्मविश्वास बढ्नेमा जोड दिए ।

सो अवसरमा विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी कविता, जनचेतनामूलक भाषण, नृत्य, नाटकलगायतको प्रस्तुति राखेका थिए ।

पर्यावरण सन्तुलन राख्न र सबै प्राणीहरू बाँच्न पृथ्वी साझा घर भएकोे भन्दै सो कार्यक्रममा वातावरणको संरक्षण र संवद्र्धनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा आधारभूत तहका हेड टिचर तेन्जिन दोर्जे सामाजिक शिक्षिका सस्मिता पौडेल, विद्यालयका अभिभावक तथा स्थानीयहरूको सहभागितामा विद्यालय हाताभित्र वृक्षरोपणसमेत गरिएको थियो ।

कक्षा १ देखि ७ सम्मका विद्यार्थीको सहभागिता रहेको कार्यक्रम विद्यार्थी सेजल गिरी र तेन्जिन ल्हामोले सञ्चालन गरेका थिए ।