१९ औँ संस्करणको असारे रोपाईं महोत्सव फेवा फाँटमा हुने

-



     सफल आवाज    
     असार १२ गते २०८१ मा प्रकाशित



पोखरा १२ असार । पोखरामा आयोजना हुने १९ औँ संस्करणको असारे रोपाईं महोत्सव यस बर्ष पोखरा २३, मार्गि पामे, फेवा फाँटमा आयोजना हुने भएको ।

पोखरा पर्यटन परिषद्को आयोजनामा हुने महोत्सव यही असार १५ गते हुने र तयारी पूरा भएकाे बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाकारी दिइएको हो ।

“पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ हुने महोत्सवमा नेपालमा मात्रै मनाइने रोपाईं जात्रामा पर्यटक तथा युवाहरुलाई संग्लग्न गराउने र कृषकहरुलाई प्रोत्साहन गर्ने उद्धेश्य रहेको अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । उनले विदेशी ५ सयको संख्यामा तथा आन्तरिक पर्यटकको पनि उल्लेखनीय सहभागिता हुने अपेक्षा रहेको बताए ।

महोत्सवमा हल गोरुको दौड, बिभिन्न आमा समूहरुबीच असारे गीत, रोपाईं प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता, रस्साकस्की प्रतियोगिता, हिलोमा भलिवलका साथै साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम हुने महासचिव सञ्जयकान्त सिग्देलले बताए ।

प्रतियोगितामा बिजेता बन्नेहरुको लागि नगद मेडल र प्रमाणपत्रको समेत ब्यवस्था गरिएको छ । २०६१ सालबाट शुरु भएको महोत्सव यस अगाडिका बर्षहरुमा बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबुढुवा, सेदिबगर, अर्मला फाँट, महतगौंडा, लामाचौर, लेखनाथ, पामेफाँट लगायत पोखरा महनागरपालिका भित्रका खेति योग्य जमिनमा आयोजना हुँदै आईरहेको छ ।