२ वटा प्राकृतिक चिकित्सालयलाई राष्ट्रिय प्राकृतिक चिकित्सा पुरस्कार अर्पण

-



     सफल आवाज    
     असार २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ असार । नेपालमा प्राकृतिक चिकित्साको अग्रणी संस्था प्राकृतिक स्वास्थ्य संस्थाले प्राकृतिक चिकित्सा क्षेत्रमा सेवा गरिरहेका विभिन्न संस्थाहरुलाई पुरस्कार अर्पण गरेको छ।

संस्थाले राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा काठमाडौंमा आयोजित योग एवम् प्राकृतिक चिकित्सा पुरस्कार समारोह २०८१ मा प्राकृतिक चिकित्सा राष्ट्रिय पुरस्कार नेपाल २०८० बाट विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय, पोखरा महानगरपालिका १, गुठिबारी, कास्कीलाई पुरस्कृत गरेको हो । सो पुरस्कार अध्यक्ष गणेश बहादुर श्रेष्ठलाई अर्पण गरिएको थियो ।

यस्तै, बद्री विक्रम थापा राष्ट्रिय योग पुरस्कार नेपाल २०८० पद्मपाणी योग तथा प्राकृतिक चिकित्सालय सैनामैना नगरपालिका १, चारपाला, रुपन्देहीलाई अर्पण गरिएको छ । सो पुरस्कार संस्थाका कमलराज घिमिरेलाई अर्पण गरिएको हो । पुरस्कार काठमाडौं विश्वविद्यालयका उप कुलपति प्रा.डा.भोला थापाले अर्पण गरेका हुन् ।

कार्यक्रममा संस्थाका संस्थापक डा. हरिप्रसाद पोखरेलले पुरस्कृत संस्थाको परिचय प्रस्तुत गरेका थिए । सो अवसरमा पुरस्कृत संस्थाका तर्फबाट गणेश बहादुर श्रेष्ठ तथा कमलराज घिमिरेले बोलेको थिए । उनीहरुले सम्मानित हुन पाउँदा खुसि व्यक्त गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछाने, संस्थापक अध्यक्ष डा. हरिप्रसाद पोखरेल, वडाध्यक्ष सरोज ढकाल, पूर्व वडाध्यक्ष तथा समाजसेवी नारायण भण्डारी, कामपा वडा नं ३१ का वडाध्यक्ष सरद ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष किरण विक्रम थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिलाई कोषाध्यक्ष ईन्द्र बहादुर कार्किले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य सीता पाण्डेले गरेकी थिईन् ।