सोलुखुम्बु, २५ साउन । सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा परेनन् । उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन ।
तर पछिल्लो दुई वर्षदेखि सल्लेरीमै लामखुट्टेबाट सार्ने रोगको जोखिम बढ्न थालेपछि उनी चिन्तित छन् । उनले भने, “म गाउँ छोडेर अन्यत्र गएको छैन । पछिल्ला वर्षमा लामखुट्टे देखिन थालेको छ ।”
विशेष गरी गर्मीका समयमा भित्रि मधेश, पहाडी क्षेत्रमा देखिने लामखुट्टे अहिले उच्च हिमाली भेगमा पनि विस्तारै फैलिदै गएको छ । सल्लेरी सहितका क्षेत्रमा अहिले लामखुट्टेको संख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् ।
सुरु सुरुमा यातायातका साधन मार्फत भित्रिएका लामखुट्टे यहीको वातावरणसँग घुलमिल हुँदा र हिमाली क्षेत्रमा तापक्रम निरन्तर उकालो लागेसँगै गर्मी ठाउँमा मात्रै बाँच्न सक्ने लामखुट्टे हिमाली भेगमा देखिन थालेको सल्लेरीका केबी घिमिरेले बताए।
उनले भने, “यहाँको तापक्रम बढ्दै गएको छ, सल्लेरीमै पनि घाम लागेको बेला निक्कै गर्मीको महसुस हुन्छ, हिउँदमा हिउँ पर्न नै छोडिसक्यो, अनि लामखुट्टे त फैलिहाल्छ नि ।” सल्लेरीमा अहिले तापक्रम २५ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने गरेको हावापानी मापन केन्द्र सल्लेरीका मापनकेन्द्र सहयोगी नवराज पराजुलीले बताए ।
उनका अनुसार सल्लेरीको तापक्रम बिहान र बेलुका नै २२÷२३ डिग्रीसम्म तापक्रम पुग्ने गर्दछ । वर्षेनी यहाँको अधिकतम तापक्रम निरन्तर बढ्दै गइरहेको उनको भनाइ छ । यसका कारण लामखुट्टेको संख्या समेत बृद्धि भएको बताइएको छ । लामखुट्टेको संख्या बढेसँगै सल्लेरीसहित, सोताङ, नेचासल्यान, माप्यदुधकोशी लगायतका क्षेत्रमा झुल तथा यसविरुद्ध धूपको प्रयोग सुरु भएको छ ।
लुक्ला भन्दा केही तलको गाउँ खरिखोलासम्म लामखुट्टे फैलिएको स्थानीयवासी रामबहादुर मगरले बताए। स्थानीयवासी पासाङ शेर्पा झुल तथा लामखुट्टे नष्ट गर्ने धूप प्रयोग गर्न बाध्य बनेको बताउछन्। तापमान बढेर हिमाली क्षेत्रको जनजीवन र बालीनालीमा असर पारिरहेको जलवायुका जानकार राजन थापाले बताए ।
तापक्रम वृद्धिले हिमाललाई असर पारिरहेका छन् । यसबाट डेङ्गीको सङ्क्रमणको जोखिम बढेको जनाइएको छ । पहाडी भेगमा ०.०६ प्रतिशत र हिमाली भेगमा ०.०४ प्रतिशतका दरले तापक्रममा वृद्धि भइरहेको छ । प्राकृतिक एवं मानवीय कारणबाट विश्वव्यापी तापमान बढिरहेको विज्ञहरु बताउँछन् ।