पोखरा, ११ भदौं । पोखरामा मंगलबारदेखि सृष्टि क्रियसन, कोशेली घरको शुभारम्भ गरिएको छ । विभिन्न पेशा, सामाजिक संघ संस्थामा क्रियासिल रहेका २८ जना महिलाको समूहले सो कोशेली घर संचालनमा ल्याएका हुन् ।
हामीले जोखिम मोलेर व्यवसायलाई शुभारम्भ गरेका छौं । बाहिरबाट आयात गरिएका सामाग्रीको दबदबा रहिरहेको बजारमा हामीले हाम्रै नेपाली पौरखले निर्माण गरेका ह्याण्डि क्राफ्टका सामग्रीहरु काेशेली घरमा राखेका छौं ।
कोशेली घरका अध्यक्ष शान्ति उदासले भनिन्, पोखरा बनाउने हाम्रो पनि दायीत्व छ । हामी विभिन्न क्षेत्रबाट बिहेवारी भएर पोखरासंग जोडिएका छौं । सरकारले मात्रै गरेन भनेर भन्नुभन्दा सरकारकै लागि सहयोगि भईदिएका छौं ।
हाम्रो उदेश्य हाम्रा दिदिबहिनीहरुलाई उद्यमशील बनाउन जागृत गर्नु, उत्प्रेरित गर्नु र उनीहरुले उत्पादन गरेका सामग्रीहरुको बजारिकरणका लागि सहजिकरण पनि गर्नु हो । यसका साथमा सामाजिक सेवा पनि छदैछ ।
हामीले व्यावसायीक रुपले सामूहिक रुपमा २८ जना महिला जम्मा भएर जनही तीन लाखको दरले रकम संकलन गरेर ८४ लाखको पूँजीबाट सृष्टि क्रियसन संचालन गरेका हौं । वित्त विभागका संयोजक शान्ता श्रेष्ठले भनिन्, दिदिबहिनीहरुको यो उत्साहलाई सबैतिरबाट सहयोगको अपेक्षा रहेको छ ।
कोशेली घरमा विभिन्न हस्तकलाका सामाग्रीहरु राखिएको छ । यस्तै परम्परागत परिचय दिने कपडाहरु राखिएको छ । त्यहाँ राखिएका बस्तुहरुले नेपाली उत्पादनको झझल्को दिएका छन् भने उत्पादन गरिरहेकाहरुको लागि बजारिकरण र उद्यमी बन्न चाहनेका लागि ज्ञान प्राप्त गर्ने थलो हुनेछ, श्रेष्ठले भनिन् ।
शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले महिलाहरुले कोशेली घर संचालनमा ल्याउनु खुसिको कुरा भएको बताए ।
उनले भने, म उद्योग वाणिज्य संघको अध्यक्ष भएको बेलामा पोखरा कोशेली घरको अवधारणा बनाएको थिएँ, अहिले दिदिबहिनीहरुले कोशेली घर खोलेर नेपाली उत्पादनहरुको बजारिकरणमा लागेकोमा तपाँईहरुलाई धन्यवाद छ। हुन त सरकारले पनि यस्तो कार्य गर्नुपर्ने हो मन्त्री थापाले भने, तपाँईहरुको सहयोगका लागि सरकार सकारात्मक छ ।
मन्त्री थापाले नेपाली हस्तकलाका सामग्रीहरु पर्यटकका लागि रुचिका बस्तु हुने भएकोले उनीहरुको लागि यो गन्तव्यको थलो बनाउनु पर्ने बताए ।
पोखरा महानगरपालिका व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख नवराज अधिकारीले हाम्रा उत्पादहरुलाई बजारिकरण आवश्यक रहेकोमा कोशेली घरले त्यो कार्य गर्न आएकोमा आभार व्यक्त गरे । पोखरा, कास्की वा भनौ यो प्रदेश नै उत्पादनसंग जोडिएको छ ।
कृषि उपज वा हस्तकला र अन्य उत्पादनहरु भईरहेका छन् । अधिकारीले भने, अब हामीले ब्राण्डिङ गरेर अघि बढ्नुपर्छ ।अहिले जेठो बुढो र खुदोको ब्राण्डिङ भएको छ । केहि समयमै मह र कफिको पनि ब्राण्डिङ हुने उनले बताए ।
महिलाहरुको अग्रसरतामा नेपाली मौलिक उत्पादनको बजारिकणको लागि थलो बनाउनु राम्रो काम भएको नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए ।
कार्यक्रममा सहभागि सबैलाई संचालक शर्मिला श्रेष्ठले स्वागत गरेकी थिईन् । वित्त विभाग संयोजक शान्ता श्रेष्ठले संचालन सहजिकरण गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष शान्ति उदासले गरेकी थिईन् ।