कुमुदिनी होम्समा अनलाइन सिकाइलाई निरन्तरता

-



     सफल आवाज    
     असार २५ गते २०७७ मा प्रकाशित



चीनबाट सुरु कोरोना भाइरसका कारण नेपालमा पनि संक्रमित जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन गरेको ४ महिना पुग्न लाग्यो ।

गत वर्ष चैत ११ देखि जारी लकडाउन चरणबद्ध रुपमा थपिँदै ७ साउनसम्म लम्बाइएको छ । लकडाउन खुकुलो भएपनि विद्यालय तथा कलेजहरु पूर्ण रुपमा बन्द छन् । त्यसको प्रत्यक्ष मार विद्यार्थी वर्गमा परेको छ । उनीहरुको नियमित पठनपाठन हुन सकेको छैन ।

यसै विषयलाई ध्यानमा राखी पोखराको प्रतिष्ठित कुमुदिनी होम्स् माविले अनलाइन कक्षाबाटै विद्यार्थी पढाउँदै आएको छ ।

नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीलाई पढाइमा सक्रिय गराउन अनलाइन कक्षा सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

मन्टेश्वरी, पूर्व प्रावि, प्रावि, निमावि र माविका करिब ७० जना शिक्षकहरुलाई तालिम प्रदान गरी कक्षा संचालन गरिएको उनले बताए ।

विद्यालयले वैशाख दोस्रो साता शिक्षकलाई त्यसबारे तालिम दिएको थियो । अनलाइन कक्षा सञ्चालन तथा अनुगमन लगायत विषयमा काठमाडौं दक्ष प्रशिक्षकबाट शिक्षकहरुलाई तालिम प्रदान गरिएको पाखिलेले जानकारी दिए ।

पोखरा वडा ४, गैह्रापाटनस्थित कुमुदिनी होम्स पोखरामा अनलाइन कक्षा संचालन गर्ने अग्रणी स्कुलमा पर्दछ ।

कुमुदिनीले विद्यार्थीको भविष्यप्रति ख्याल गर्दै अन्य विभिन्न माध्यमबाट पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिएको पालिखेले जनाए ।