विश्वासको ऊर्जाले तेस्रो वर्षमा

-



     सफल आवाज    
     श्रावण ५ गते २०७९ मा प्रकाशित



सफल मिडिया हाउस प्रालिद्वारा सञ्चालित न्युज पोर्टल सफल आवाज डटकम (www.safalawaj.com)आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ। निरन्तर र अबिचलित यो यात्राको खुसी हाम्रा समस्त पाठकसँग बाँड्न पाउँदा हामी गौरवान्वित र थप उत्साहित छौं ।

विशेष धन्यवाद तपाईं आदरणीय पाठक वर्गलाई, जसले हामीलाई विश्वास गर्नुभयो । त्यही विश्वासको जगमा हामी उभियौं । पाठकवर्गको साथ हाम्रा लागि सुखद् अनुभव रह्यो । जसका कारण पाठकलाई हाम्रो अनलाइन समाचारको भरपर्दो माध्यम बनिरहेको छ ।

दोस्रो वार्षिकोत्सवको अवसरमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुक, लेखक, सहकर्मी साथीहरू तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णप्रति आभार एवं कृतज्ञता ज्ञापन गर्दछु।

आजभन्दा ३ वर्षअघि कोभिडको त्राससँगै अनलाइन मिडियाको बाक्लो भिडमा होमिनु आफैंमा चुनौतीपूर्ण थियो । यस्तो भिडमा उत्तिकै रफ्तारमा सुरुआती जोस लिएर अघि बढ्न हामीलाई पाठक, विज्ञापनदाता र शुभेच्छुकबाट गहकिलो ऊर्जा मिलिरहेको छ । त्यसलाइ नै पथप्रदर्शक मानेर हामी कोभिडको संत्रास, असहज बजार र शिथिल अर्थतन्त्रबीच २ वर्षे खुट्किलो पार गर्दै तेस्रो वर्षको यात्रामा लागेका छौं । यो छोटो तर कठिनाइपूर्ण घडी पार गर्दा हामीमा झन् उत्साह थपिएको छ । उत्तिकै आशा छ, अनुकूलताको ।

सफलआवाज डटकमको सुरुआत गर्दा आमपाठकको नजरमा कहाँनेर हुन्छौं होला भन्ने हामीमा एक प्रकारको संशय थियो । तर त्यो हाम्रो संशयलाई हल्का गराइदिएर पाठकवर्गले ठूलो गुन लगाइदिनुभयो । जुन अहिले हाम्रो निरन्तर यात्राको प्रमुख ऊर्जा बनेको छ । यस्तै विश्वास र साथ आगामी वर्षहरुमा पनि निरन्तर पाउनेमा हामी आशावादी छौं ।

पाठकको चाहना र आवश्यकतालाई प्रमुख प्राथमिकतामा राखेर सफलआवाज डटकमले आर्थिक, कर्पोरेट, शैक्षिक, सामाजिक लगायत समसामयिक विषयवस्तु तथा जनचासोका समाचार समेट्दै आएको छ । पाठकको रुचिलाई ध्यानमा राख्दै हामीले स्तरीय सामग्रीको प्रकाशनमा जोड दिइरहेका छौं ।

गतवर्ष झैं यहाँहरुको माया, सद्भाव, सुझाव र सकारात्मक प्रतिक्रिया हामी सम्मानसहित ग्रहण गरिरहनेछौं । पाठकको सुझाव तथा प्रतिक्रिया हाम्रा लागि सदैव मार्गदर्शन हुनेछन् । धन्यवाद !

दुर्गाप्रसाद हुमागाईं
प्रकाशक तथा प्रवन्ध सम्पादक