कोरोना प्रभावमा नेपाली फिल्म, ४ महिनादेखि हल बन्द

-



     सफल आवाज    
     असार २५ गते २०७७ मा प्रकाशित



कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाली फिल्म क्षेत्र नराम्ररी प्रभावित बन्न पुगेको छ ।
नेपालमा चैत ११ देखि सुरु लकडाउनसँगै देशभरका हलहरु पूर्णरुपमा बन्द भएका छन् । नेपाली फिल्म उद्योगबाट ३ हजार ५ सय जना प्राविधिकको मात्रै रोजीरोटी खोसिएको छ । त्यतिमात्र कहाँ हो र, कलाकार, निर्माता, हल संचालक, कर्मचारी लगायत फिल्म उद्योगसँग सम्बन्धित व्यक्तिहरु बेचैन छन् । नेपाली फिल्म क्षेत्रमा ठूलो लगानी फसेको छ ।

सरोकारवालाले कोरोनाको चुनौतीबीच पनि अब अघि बढ्दै जानुपर्ने बताउँछन् । लामो समयदेखि फिल्म हल बन्द भएको हुँदा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सामाजिक दूरी कायम गर्दै हल विस्तारै चलाउनुपर्ने उनीहरुको जोड छ । कोरोनाको विषम परिस्थितिपछि फर्किने समय उस्तै सम्भावना बोकेर पनि आउने कतिपयको अपक्षा समेत देखियो ।

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले चलचित्रको आर्थिक जोखिम न्यूनीकरण गर्नतर्फ लागेको बताउँछन् । उनले समस्या समाधानका लागि विशेष कमिटी गठन गरेको र विभिन्न पेसागत संघसंगठनसँग अवधारणा लिएको भन्दै क्षेत्राधिकारभित्र रहेर गर्न सक्ने काम गर्दैआएको बताए । उनले आफ्नै मौलिक मेकिङको शैली विकास गर्नुपर्ने भन्दै स्क्रिप्टमा केही ‘फन्डिङ’ व्यवस्था गरिरहेको बताए । नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा पु¥याउन मौलिक विषयवस्तु बाहेक अरु हुनै नसक्ने उनको दाबी छ ।

चलचित्र निर्माता संघ अध्यक्ष आकाश अधिकारीले ५० फिल्म सुटिङ सकेर बसेको र २५ फिल्म डेट कुरेर बसेको अवस्थामा लकडाउनले यो क्षेत्रको १ अर्ब १५ करोड रुपैयाँ फ्रिज भएको जानकारी दिए । उनले तत्काल हल खोलेर चलाएपनि अकूपेन्सी घटेर ३३ प्रतिशतसम्म पुग्ने भन्दै राज्यले फिल्म लागतमा २० प्रतिशत सुरक्षा दिए बाँकी रिस्क बेहोर्न तयार आफूहरु तयार रहेको बताए । उनले भने, ‘राज्यले फिल्मलाई समस्याभित्रकै उद्योग राखिदिनोस् । लकडाउन अवधिको बिजुली महसुल, बैंक ऋण २५ प्रतिशतमात्र व्याज तिर्न तयार छौं । कर तिर्ने समय पुस मसान्तसम्म पु¥याइयोस् । मनोरञ्जन कर तथा स्थानीय कर फ्री जोन बनाइयोस् ।’

चलचित्र कलाकार संघ अध्यक्ष रवीन्द्र खड्काले हरेस खानुपर्ने अवस्था नभएको भन्दै आशावादी बने । सबैजना एक भयौ भने समस्याको समाधान अवश्य हुने उनको भनाइ छ ।

२०७६ सालमा हिट फिल्ममध्येको एक ‘छ माया छपक्कै

फिल्म निर्देशक अनुप बरालले कोरोना महामारीको बेला चिन्तित हुनुभन्दा अब के गर्न सकिन्छ भन्नेबारे ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले चलचित्र क्षेत्र खुम्चिनुभन्दा यसको माध्यम फराकिलो बन्दै जाने उनी सम्भावना देख्छन् । उनले फिल्म संस्कृति चिनाउनेखालको र मौलिक धारमा बन्नुपर्ने धारणा राखे ।

पोखरेली कलाकार माओत्से गुरुङले कोरोनासँगै लकडाउनले कलाकार मारमा परेको हुँदा राज्यले रक्षा गर्नुपर्नेमा जोड दिन्छन् । निर्देशकसमेत रहेका अभिनेता गुरुङले गुरुङ भाषामै निर्मित ५ वटा फिल्म डेट कुरेर बसेको र ७ वटा सुटिङको लागि जान लागेको बेला यो मारमा परेको बताए ।

बजेटका हिसाबले ठूलो सानो जे भए पनि भाषिक फिल्म (गुरुङ) मा करिब डेढ करोड रुपैयाँभन्दा बढी रकम फ्रिज भएको उनको गुनासो छ । लामो समयसम्म यही स्थिति रहे कलाकार तथा प्राविधिक अर्को क्षेत्रमा जान सक्ने सम्भावना पनि रहने हुँदा राज्यले विकल्प दिनुपर्ने बताउँछन् ।

पोखरा मिडटाउन ग्यालेरिया सञ्चालक निकेश द्वाले सरकारले हल सञ्चालकहरुको समस्या पनि सम्बोधन गर्नुपर्ने बताए । उनले बैंक कर्जा घटाउनुपर्ने, समय अवधि थप्नुपर्ने, विभिन्न नामका कर खुकुलो बनाउनुपर्ने माग गरेका छन् ।

लकडाउनपछि नेपाली फिल्मको अवस्थाबारे चलचित्र पत्रकार संघ कास्कीले पनि हालै सरोकारवाला पक्षबीच अन्तक्र्रिया गरेको थियो । संघले आगामी दिनमा पनि यस्ता खालका अन्तक्र्रिया गर्दै जाने अध्यक्ष अरुण गिरीले बताए ।