पहिरोमा मृतक परिवारलाई १ लाख राहत

-



     सफल आवाज    
     असार २६ गते २०७७ मा प्रकाशित



पोखराका विभिन्न स्थानमा ७ जनाको ज्यान जाने गरी शुक्रबार गएको पहिरोमा मृतक परिवारलाई १ लाख दरले राहत उपलब्ध गराइने भएको छ । विपद् व्यवस्थापन समिति कास्कीको शुक्रबारको बैठकले सो निर्णय गरेको हो ।

बैठकले मृतक परिवारलाई प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड (छैटौं संशोधन), २०७४ बमोजिम प्रतिमृतक १ लाख रुपैयाँ तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमार्फत जनाइएको छ । साथै घाइतेको उपचार व्यवस्था मिलाइने भएको छ ।

नदी किनार, भिरालो तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा वस्तीलाई जोखिमको स्तर हेरी सम्भावित धनधनको क्षति हुन नदिन समिति समन्वयमा सुरक्षित स्थानमा अस्थायीरुपमा स्थानान्तरण गरिने भएको छ ।

मौसम पूर्वानुमान विभागले अझै केही दिन भारी वर्षाको सम्भावना रहेको जनाएकोले प्रदेश आपतकालीन संचालन केन्द्र, स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी पत्रकार महासंघ कास्की र जिल्लामा क्रियाशील संचार गृहले सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

अविरल वर्षापछि पोखराको सराङ्कोट, हेमजा र लेखनाथमा गएराति आएको पहिरोले ७ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।