
अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभर मुलुकभर २३ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोमा अझै ३४ जना बेपत्ता भएका छन् ।
म्याग्दी, कास्की, जाजरकोट, लमजुङ लगायत जिल्लामा गरी २३ जनाको ज्यान गएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए । कतिपय ठाउँमा उद्धार टोली जान नसकेको र कतिपय स्थानमा उद्धारको क्रम जारी रहेकाले अझै यकिन विवरण आइनसकेको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
म्याग्दी, जाजरकोटमा उद्धार टोलीसमेत पुग्न नसकेकाले गाउँकै सानो उद्धार टोलीले काम गरिरहेको छ । हेलिकप्टर जाने तयारी गरिए पनि खराब मौसमका कारण जान नसकेको हो ।
धवलागिरि गाउँपालिका लगायत विभिन्न स्थानमा गएको पहिरोमा परेर ३ जनाको मृत्यु भएको र अन्य २९ जना वेपत्ता छन् ।
कास्कीको सराङ्कोट, हेमजा र लेखनाथमा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् ।
जाजरकोटको चारेकोट गाउँपालिका–४ जिरीमा पहिरो जाँदा ७ को मृत्यु भएको छ भने अन्य ५ जना बेपत्ता छन् ।
लमजुङको बेँसीशहर नगरपालिका–७ स्थित सातबिसेमा विपद्मा परेर ३ जनाको मृत्यु भएको छ । गुल्मी र रुकुममा पनि विपद्बाट ३ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
देशका ठूला नदीहरुमा बहाव बढ्दा सतर्कता अपनाउन भनिएको छ । जल तथा मौसम विज्ञान विभागले केही सहायक नदीसमेत खतराको आसपास पुग्ने भएकाले सावधानी अपनाउन भनेको छ ।
कर्णाली, महाकाली, र यसका सहायक नदीमा भने बहाव सतर्कताभन्दा तल नै रहनेछ । कन्काई, कमला, वाग्मतीलगायत नदीमा बहाव बढ्दो छ ।
प्रदेश १, २, गण्डकी प्रदेशका विभिन्न ठूला तथा साना नदीहरूमा आकस्मिक रूपमा पानीको बहावको उच्च हुने सम्भावना रहेको विभागले जनाएको छ ।