खुला प्रतिष्पर्धाबाट राखेप सदस्यसचिव

-



     सफल आवाज    
     असार २७ गते २०७७ मा प्रकाशित



नेपालकै इतिहासमा पहिलोपटक खुला प्रतिष्पर्धाबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सदस्यसचिव नियुक्ति गर्न लागिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले सदस्यसचिव सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रीस्तरीय निर्णय अनुसार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयका सचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक रहेको समितिमा पूर्व बोर्ड सदस्य ईन्दिरा निरौला र पूर्व कर्मचारी रिम रानाभाटलाई विज्ञ सदस्य नियुक्त गरिएको छ ।
खेलकुद विकास ऐन अनुसार सदस्यसचिव नियुक्तिको सिफारिस गर्न मन्त्रालयको सचिवको संयोजकत्वमा एक महिला सहित दुई विज्ञ रहेको समिति गठन गर्ने व्यवस्था छ ।

समितिले तयार गरेको कार्यविधि अनुसार खुला आवेदनका लागि ७ दिनको समय उपलब्ध गराइएको छ । इच्छुक उम्मेदवारले तोकिएको म्यादभित्र आफ्नो योजना मन्त्रालयमा दर्ता गराउनुपर्नेछ । प्राप्त कार्ययोजना समितिले गठन रुपमा अध्ययन गरी कम्तीमा एक महिला सहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ ।

यसअघि, नेपालमा खेलकुद मन्त्रीले इच्छाएको व्यक्ति सिधैँ सदस्यसचिव नियुक्ति गर्न मिल्ने ब्यवस्था कायम थियो ।