
संयुक्त राष्ट्र संघले हरेक वर्ष जून २१ लाई विश्व योग दिवसका रुपमा मनाउने घोषणा गरेको छ। त्यसो त हरेक उमेरसमूहका लागि योग आवश्यक हुन्छ। आजको व्यस्त र भागदौड जीवनमा त शारीरिक तन्दुरुस्तीको सहज उपाय योग नै हो। योगबाट मानसिक रोगदेखि दीर्घरोगसम्म निको हुने बताइन्छ।
योग सबै उमेर समूहको लागि आवश्यक पर्छ । बच्चाको शारीरिक विकास र विद्यार्थीको बौद्धिक विकासका लागि यो आवश्यक छ। वयस्क युवाका लागि योग कुलतबाट मुक्ति, एउटा संस्कारयुक्त बाटो अपनाउन तथा शारीरिक, मानसिक सन्तुलनका लगि पनि योग चाहिन्छ।
योगका विभिन्न प्रक्रिया छन्, यी प्रक्रियामध्ये शरीरको बाह्य सन्तुलनका लागि व्यायाम, रोगका दृष्टिकोणले केही आसन र शरीरका अंग–प्रत्यंग स्वस्थ राख्न र मानसिक शान्तिका लागि प्राणायामको महत्वपूर्ण भूमिका हुन्छ। अहिले अष्टांग योगमा आधारित भएर संसार चलिरहेको छ। त्यसमध्ये आसन र प्रणायामप्रति धेरैको आकर्षण छ।
एकजना व्यक्तिले एकैचोटि कुनै नियमको पालन गर्न नसके पनि आसन र प्रणायामलाई समात्न सक्छ। त्यसपछि भने उसले नियमको बिस्तारै पालन गर्न थाल्छ। त्यसपछि एउटा ध्यान उत्पत्ति हुन्छ र मुक्तिको बाटो प्राप्त गर्न सक्छ।

प्राणायाम श्वासका माध्यमबाट गरिन्छ। श्वास कसरी लिने, श्वासलाई कसरी रोक्ने, कसरी छोड्ने, रोकेर कतिबेर राख्ने, देब्रे नासिकाबाट लिएको श्वासको प्रभाव के हुन्छ, दायाँबाट लिएको श्वासको प्रभाव के हुन्छ? श्वास नियन्त्रणका यी विविध विधिले फरक–फरक प्रभाव हुन्छ।
प्रणायाम मानसिक सन्तुलनका लागि अचूक औषधिसरह हो। कुनै पनि विधिबाट सञ्चो नभएका बिरामीलाई पनि नियमित योगले लाभ मिल्छ।
योगले सकारात्मक सोचको विकास गराउँछ। बिहानै खाली पेटमा योग गरेमा शरीरलाई धेरै फाइदा मिल्छ।
प्राणायाम एक हिसाबले अक्सिजन थेरापी हो। अक्सिजन पर्याप्त लियो भनेर शरीर सन्तुलित हुन्छ। पर्याप्त अक्सिजनले शारीरिक र मानसिक रोग समेत निको हुन्छ।
आफ्नो शरीरका लागि एकदेखि डेढ घन्टा समय दिन सक्यौं भने हामी निरोगी हुन्छौं।