म्याग्दी पहिरोमा १९ जनाको शव फेला, १२ घाइतेको उद्धार

-



     सफल आवाज    
     असार २७ गते २०७७ मा प्रकाशित



म्याग्दी जिल्लाको धवलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्तामध्ये १९ जनाको शव भेटिएको छ । साथै १२ जना घाइतेको हेलिकोप्टरमार्फत उद्धार गरी अस्पताल पठाइएको छ ।
अविरल वर्षापछि शुक्रबार आएको पहिरोमा परी बेपत्ता मालिका गाउँपालिका वडा ७, बिम दुलेबाट ७ जना र धवलागिरी गाउँपालिका वडा ६, मराङ्ग रिखाबाट १० जनाको मृत अवस्थामा उद्धार भएको हो ।

अविरल वर्षाका कारण बिहीबार राति घरमाथिबाट खसेको पहिरोमा परेर धवलागिरी गाउँपालिका –६ मराङ्गमा २१ जना र मालिका गाउँपालिका–७ बिममा ९ जना बेपत्ता भएका थिए । मालिका गाउँपालिका– ६ स्थित दुखु खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् । जिल्लाको रघुगंगा गाउँपालिका–६ का एक पुरुषलाई बाढीले बगाएर मृत्यु भएको थियो ।

मालिकाका स्थानीय विष्णु पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली, सन्दीप नेपाली, वीरबहादुर नेपाली र वीरबहादुरको ३ महिनाको छोराको मृत्यु भएको छ ।

यस्तै, मराङको पहिरोबाट स्थानीय सुकुना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र प्रकाश केसी (जनिमा केसीका १८ वर्षे छोरा) छन् । उनीहरुको मृत अवस्थामा उद्धार भएको हो ।

यसैगरी, शनिबार मालिका ७ बस्ने ३६ वर्षीय पूर्णबहादुर नेपाली, धवलागिरी ६ बस्ने २२ वर्षीया गर्भवती मञ्जिता श्रीपाली र वर्ष ७ का सफल नेपालीलाई उद्धार गरी उपचारार्थ अस्पताल लगिएको छ । तीमध्ये पूर्णबहादुरको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, मञ्जिता र सफलको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि रेफर गरिएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, जिल्ला प्रहरी प्रमख प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर लगायत नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली पुगी पहिरोमा बेपत्ता भएका व्यक्तिको स्थानीय सहयोगमा खोजतलास गरेको हो ।

पहिरोमा पुरिएहरुको उद्धारमा घाइते भेटिएकाहरुलाई प्रभू एयरको हेलिकोप्टरमार्फत बेनी अस्पताल र पोखरा पठाइएको हो ।

अन्य बेपत्ताको खोजीकार्य जारी रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।


धवलागिरी गाउँपालिका वडा ६ का वडाध्यक्ष राजाराम सुवेदीले गाउँमा करिब ५०/६० ठाउँमा पहिरो गएको र उद्धारमा कठिनाइ भएको बताए । उनले विपद्को घडीमा सघाउन सम्पूर्णमा आग्रह गरे ।
यसैगरी, म्याग्दीका विभिन्न स्थानमा पहिरोको उच्च जोखिम भएका २ सय २० जना मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।रघुगंगा गाउँपालिका ३, गलेशवर राहुँघाटखोला नजिकको बस्ती जोखिममा रहेकोले २१ घरधुरीका ८५ जनाको परिवारलाई नजिकैको गायत्री मन्दिरमा सारिएको छ ।

घाइतेको उद्धार गरिँदै । फोटो : प्रदेश प्रहरी कार्यालय गण्डकी

धवलागिरी ६, कल्लेरी जहरे बस्ने ८९ जना व्यक्तिहरुको उद्धार गरी ५० जनाको वडा ७, शिवलिंग स्थित हेम मावि आश्रय दिइएको छ भने बाँकी आफन्तको गएका छन् ।

मालिका गाउँपालिका वडा ५, देवीस्थानका ३ घरधुरीका १३ जना र वडा ६ दरबारचाउटाका ६ घरधुरीका ३३ जना गरी ४६ जनालाई जनप्रिय मावि दरबाङ सारिएको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

भौगोलिक विकटता र प्रतिकुल मौसमसँगै उद्धारमा कठिनाइ र ढिलाइ भएको प्रहरीले जनाएको छ।