फिल्मलाई राहत मौका, विवरणप्रति टिप्पणी

-



     सफल आवाज    
     असार २७ गते २०७७ मा प्रकाशित



कोरोनाका कारण प्रभावित बनेका फिल्म युनिटलाई राहत दिन चलचित्र विकास बोर्डले केही समयअघि विवरण माग्यो । तर, चलचित्र निर्माता संघले बोर्डमा ६४ फिल्मको विवरण बुझाइएकोप्रति टीकाटिप्पणी सुरु भएको छ ।

संघले निर्माण नै नभएका फिल्मको नाम समेत बोर्डमा पठाएपनि विवाद सुरु भएको हो । सो विषयलाई लिएर फिल्मकर्मीहरु स्वयं विरोध जनाएका छन् ।

बोर्डबाट राहत पाइने भएपछि निर्माताले निर्माण नै नभएका फिल्मको समेत विवरण बुझाएका थिए । निर्माताबाट प्राप्त विवरण संघले छानविन नै नगरी बुझाएपछि फिल्मकर्मीले बोर्डसँग गम्भीर छानविन गर्न माग गरेका छन् ।

निर्माता संघका महासचिव रोज राणाले नै सो विवरणप्रति असहमति जनाएका छन् । उनले फेसबुकमा स्टाटसमा कोरोनाबाट प्रभावित वास्तविक फिल्मलाई मौका दिनुपर्नेमा अन्यथा भएकोमा आफ्नो असहमति रहेको उल्लेख गरेका हुन् । उनको कुरामा निर्देशक केपी पाठकले समर्थन जनाएका छन् ।

निर्देशक सम्झना उप्रेती रौनियार, ऋषि लामिछाने लगायतले पनि सो विवरणमा असहमति जनाउँदै यसबारे चलचित्र विकास बोर्डले गम्भीर छानविन गर्नुपर्ने बताएका छन् ।

सो आपत्तिपछि निर्माता संघतर्फबाट कोषाध्यक्ष सुशील पोखरेलले फारम विवरणलाई नजरअन्दाज गर्ने, निवेदन नलिने र निवेदन लिएपछि सम्बन्धित निकायमा नपठाउने र पक्षपात गर्ने बैधानिक अधिकार नभएको स्पष्ट पारेका छन् । संघले बुझाएको विवरणमा बोर्डले छानविन गर्ने उनको विश्वास छ ।

कोरोना प्रभावित भनिएका फिल्ममा ‘दि होल टाइमर, पारस, २ नम्बरी, म यस्तो गीत गाउँछु २, प्रेमगीत ३, हिरो रिटन्र्स, झिंगे दाउ, उल्झन, पोखराकी काली, मन्त्र, हली, सम्हालिन्छ कहिले मन, हिजो आजका कुरा, लक्का जवान, मन परेसी, लिम्बो, ए मेरो हजुर ४ लगायत रहेका छन् ।