कोरोना संक्रमितको ग्राफ घट्दो, थप ३ जनाको मृत्यु

-



     सफल आवाज    
     असार २७ गते २०७७ मा प्रकाशित


नेपालमा कोरोना संक्रमितको ग्राफ पछिल्लो साता घट्दै गएको छ । गत सोमबारदेखि शनिबारसम्म अवधिमा संक्रमितको संख्या विगत तुलनामा घट्दै गएको हो ।

सोमबार १ सय ८०, मंगलबार २ सय ४, बुधबार २ सय ५५, बिहीबार १ सय ८ र शुक्रबार १ सय ८ जनामा पीसीआर रिपोर्ट पोजेटिभ देखिएकोमा शनिबार सो संख्या घटेर ७० मा झरेको छ । शनिबारमात्रै ४ सय ३१ जनाले कोरोना जितेर घर फर्किए । कोरोना जित्नेको कुल संख्या हालसम्म ८ हजार ४ सय ४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गएको २४ घण्टामा ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको जनाए । योसँगै संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । यद्यपि कोरोना संक्रमितमध्ये निको हुने ५० प्रतिशत भन्दा बढी नाघेका छन् । मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमित छैनन् ।

२४ घण्टामा ३ हजार ६ सय ४८ जनाको पीसीआर नमुना परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा २४ हजार ९७ जना बसेका छन् । आइसोलेसनमा ८ हजार २ सय ३९ जनाको उपचार भइराखेको छ।

यसरी हेर्दा नेपालमा कोरोना संक्रमितको संख्या साच्चिकै घट्दै गएको हो वा पीसीआर टेष्ट हुन धेरैको बाँकी हो भन्नेबारे यकिन हुन सकेको छैन ।

मृत्यु हुने ३८ पुगे
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट शनिबार थप ३ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३८ पुगेको छ ।

मन्त्रालयका अनुसार ललितपुरस्थित पाटन अस्पतालमा २ जना र काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

काठमाडौं–१०, शंखमूल बस्ने ६० वर्षीय पुरुष, गोकर्णेश्वर–४ का ५४ वर्षीय पुरुष र सिन्धुपाल्चोकका ४५ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको हो।