अपडेट: म्याग्दी पहिरोमा २७ को मृत्यु, ४ जनाको खोजी

-



     सफल आवाज    
     असार २७ गते २०७७ मा प्रकाशित


अविरल वर्षापछि शुक्रबार बिहान आएको पहिरोमा परी म्याग्दीका विभिन्न गाउँपालिकामा २७ जनाको मृत्यु भएको छ । यस्तै, पहिरोमा ४ जना बेत्ता छन् भने १२ घाइते भएका छन् ।

जिल्लाको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परी ठूलो संख्यामा जनधनको क्षति हुन गएको हो ।

धवलागिरी वडा–६, मराङ्मा पहिरो परी १८ जनाको मृत्यु भएको छ । स्थानीय सुकना लामगादे, तुलबहादुर क्षेत्री, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र प्रकाश केसी (जनिमा केसीका १८ वर्षे छोरा) ले ज्यान गुमाएका छन् ।

यस्तै, मालिका गाउँपालिकाका विष्णु पौडेल, उनकी ४ वर्षीया छोरी ईच्छा, गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली, सन्दीप नेपाली, वीरबहादुर नेपाली र वीरबहादुरको ३ महिनाकी छोरी निशा गरी ८ जनाको मृत्यु भएको छ ।

यसैगरी, ३३ वर्षकी हीरामति जुग्जाली, ७ की करिष्मा जुग्जाली, ५ की कञ्चन जुग्जाली, ५५ की गौसरा जुग्जाली, २० की दीमा जुग्जाली, ४ वर्षीया दीप्ति जुग्जाली, १ की दिवान जुग्जालीको पनि मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रहरीका अनुसार रघुगंगा गाउँपालिका ठाडाखानी बस्ने ५० का नलीमान छन्त्यालको खोलाले बगाएर मृत्यु भएको हो ।

मालिकाको बिम, मुरवाङ, दुलेमा तथा मराङको मराङ, कल्लेनी, राम्चे र रिखमा भीषण पहिरो गएको हो । त्यसो त विभिन्न ठाउँमा गरी ५०÷६० स्थानमा सानातिनो पहिरो गएको धवलागिरी गाउँपालिका वडा ६ का वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

पहिरोमा अझै पनि बीमकी एलिसा केसी, मालिका ६ बस्ने अ. ४१ वर्षकी गीता रोका (खोलाले बगाएको), कल्लेनीकी ५१ वर्षीया जनिमा केसी, वर्ष १६ का सविन पुन बेपत्ता छन् ।

मराङ्को पहिरोमा बेपत्ता भनिएका धनबहादुर जुग्जाली, अन्दाजी १५ वर्षीया ऋतुकुमारी जुग्जाली, अन्दाजी ५ वर्षीय अर्जुन जुग्जाली भने सम्पर्कमा आएका छन् ।

प्रहरी र स्थानीयको सहयोगमा घाइतेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

पहिरोमा परी धवलागिरी ६, रिखका १२ वर्षीय अंकित जुग्जाली, वर्ष ३५ का कुशल पुन, वर्ष १६ की बिर्सना जुग्जाली, वर्ष ३४ का धनबहादुर जुग्जाली, वर्ष ८७ की गौतमी सुनार, वर्ष २२ का दीपक श्रीपाली, वर्ष ७२ का हरि बिटाजु घाइते छन् । उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, मणिपाल शिक्षण अस्पतालमा मालिका ७ बस्ने ३६ वर्षीय पूर्णबहादुर नेपाली, धवलागिरी ६ बस्ने २२ वर्षीया मञ्जिता श्रीपाली, वर्ष ७ का सफल श्रीपाली र मालिका ७ ताकमकी ६७ की सतदेवी बिटालुको उपचार भइरहको छ । उनीहरुको प्रभू हेलिकोप्टरमार्फत उद्धार गरी पोखरा ल्याइएको हो । गर्भवतीसमेत रहेकी मञ्जिताको ढाँडमा समस्या देखिएको छ । मालिका ६ का बालसिंह रोकाको काठमाडौंको मेडिसिटीमा उपचार भइरहेको छ ।

पहिरोको उच्च जोखिम भएका २ सय २० जना मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।