ऊ अर्थात् एक नेपाली

-


     मनोज अधिकारी    
     असार २८ गते २०७७ मा प्रकाशित


घर छोडेर कमाउन परदेश पुगेको ऊ धमाधम गाउँ फर्कंदैछ । ऊ दाम पाउने काम खोज्दै गाउँबाट पहिले बजार झरेको थियो । पछि अलिपरको सहर पसेको थियो । त्यसपछि परदेश पुगेको थियो ।अहिले परदेशबाट, सहरबाट र बजारबाट हुलका हुल उ जस्तै हजारौं हजार मानिस गाउँ फर्किएका छन् । यसरी फर्किनेहरुको त्यही हुलमा ऊ पनि सामेल छ ।

ऊ आफ्नो थाकथलो छोडेर सुखको आश, सुविधाको लोभ र अवसरको खोजीमा हिंड्नेहरुको एक प्रतिनिधि पात्र हो । विकट गाउँको गरिबीमा हातमुख जोड्नु उसको प्रमुख सवाल थियो । भोकै नांगै हुने जहान परिवारको पेट भर्ने अभिलाषा थियो । सिंगो आँग ढाक्ने एकसरो सपना थियो । दयनीय गरिबी मेट्ने एउटै रहर थियो । दुईचार पैसा कमाएर परिवार सुखी बनाउने धृढ लालसा थियो ।
एउटा अकल्पनीय कोरोना महामारीले पुरै विश्वलाई एकैपटक आक्रान्त बनायो । यही महामारीमा अरुअरु जस्तै ऊ पनि प्रताडित नहुने कुरै भएन । ऊ कुनै रहर या सपना पुरा नहुँदै अधुरो ज्यान र रित्तो हात गाउँ फर्किरहेछ । ऊजस्तै हजारौं, लाखौं गरिब, मजदुर र पिछडिएको वर्ग यो घर फिर्तिको लाममा छन् ।

तावाको माछो भुँग्रोमा भनेझैं उनीहरुको पीडा छ । गरिबी, बेरोजगारी, विभेद्, अन्यायबाट पीडितहरु कोरोना महामारीबाट झन् पीडामा पर्नु दैवकै लिलाबाहेक अरु के होला ?
उसँगै अनेकौं दौंतरी, समकक्षी, समकालिन र सहयात्री घर फिर्तिको एउटै बाटोमा भेटिएका हुन् । यो विपत्तिमा सबैको एकै हाल र उस्तै बेहाल छ । ती सबै लामो न लामो यात्रा गरेर ज्यानको मायाले आफ्नै घर आँगन फर्किरहेका छन् ।

ऊ पनि अरुजस्तै आफ्नै मुलथलो सम्झेर गाउँ फर्किएको छ । न कुनै चाड, न कुनै उत्सव । न कुनै रौनक, न कुनै उमंग । केवल ज्यान जोगाउने एक बाध्यात्मक फिर्ति सबैको साझा नियति बनेको छ ।
यही नियतिको ऊ एक पात्र हो । बैशाख, जेठको धुपौरे गर्मीले कसैलाई पोलेको छैन । असारे झरी र साउने दलदले हिलोले रोकेको छैन । पसिनाको धारोले भिजेको शरीर निरन्तर हिंडाईको बेगसँगै बहने हावाले सुकाएर कट्कट्एिको छ । फेरि भिजेको छ । र फेरि सुकेको छ ।

ऊ आप्mनो घर फर्कन नपाएर दशगजामा कयौं दिनरात अलपत्र परेको छ । जन्मभूमि टेक्न कयौं पांैठेजोरी खेलेको छ । बल्लतल्ल सिमाबाट छुटेर ऊ भर्खर अघि बढेको छ । बाटोमा प्रहरीको लाठीले सैतानी चुटाई भेटेको छ । ढाड र पिंढुलामा सुम्ला बोकेर हिंडिरहेको छ । आफ्नै देशमा तिरस्कार र तथानाम बचनको घोचाइले मन छियाछिया बनाएको छ । वरपर हेर्ने, देख्नेको नजरमा ऊ आफ्नै जन्मभूमिमा दया र हेयको पात्र बनेको छ । आफुजस्तै हजारौं युवाको लस्करमा ऊ यहीं कतै छ ।

हप्ता दिनसम्म हिंड्दा पनि ऊ घर पुगेन । अझै हिंडिरह्यो । दशौं दिन बल्ल पहाड उक्लियो । उकाली चढ्यो । ओराली झर्याे । अनि खोला र खोंच तर्दै घर नामको झुपडीमा पुग्यो । यत्तिका दिन हिंड्दा चप्पलका लोती छिने । तलुवा प्वाल परे । तैपनि पाइला कसैको रोकिएन ।
पैताला फुटाउँदै हजारौं सहयात्री ऊजस्तै आआफ्ना घर र झुपडी पुगे । अरु कैयन् पुग्दै होलान् । अझै कैयन् बीच बाटोमै हिंड्दै होलान् । कति अझै दशगजामै रोकिएर अलपत्र परेकै होलान् । उजस्तै आफ्नो घर सम्झेर गाउँ फर्कनेहरु बाटोमा हजारौं थिए ।

उसले बाटोमा सबैलाई भेट्यो । सबैलाई नजिकबाट देख्यो । सबैका उस्तैउस्तै जीवनकथा सुन्यो । सबैका उस्तै व्यथा छामेर हिंड्यो । अरुका पनि उस्तै कथा र व्यथा थिए । आफुभन्दा भिन्न कोही देखेन । किनकि ऊ पनि अरुभन्दा भिन्न थिएन ।

दिनौं र हप्तौं दिन हिंड्नु रहर थिएन, बाध्यता थियो । निमुखा गरिबका लागि कुनै सवारी साधन छैन । कसैसँग साहरा माग्ने आधार छैन । बाटोमा न कसैले पेटभरी खाए । न कसैले न्यानो बास पाए । उसले पनि खाएन । कसैले भोको पेटको गुनासो गरेनन् । उसले पनि आफु भोको ठानेन ।
किनकि यो चुनावी मौसम थिएन । नेताका भाषण सुन्न आमसभामा हिंड्ने बेला थिएन । यो घर फिर्तिको हुल कुनै दलको जुलुस र र्यालीमा परिचालित कार्यकर्ताको होइन । नेता, सांसद् र मन्त्रीका आसेपासे पनि हुँदै होइन । यी आखिर कोही होइनन् भने यिनले सुविधाले घर जान किन पाउनु ? बाटोभरी गास र बासको आश किन गर्नु ?

उनीहरु त संभ्रान्त वर्गभन्दा धेरै फरक दुनियाँका दिनदुःखी थिए । यो यात्रा, यो हजारौंको लस्कर, यो घर फिर्तिको क्याराभान ती संभ्रान्तहरुको होइन । आखिर यी दैनिक ज्याला मजदुरी गरेर बाँच्ने आमदुःखी न हुन् । यिनले सयौं किलोमिटर लुरुलुरु हिंड्नु जायज हो । नागरिक हैसियतमा आवश्यक सुविधा र व्यवस्था हुनु यिनीहरुका लागि जायज होइन ।

त्यो यात्रामा बृद्धबृद्धा हिंडे । बालबालिका हिंडे । महिला र अशक्त हिंडे । गर्भवती र सुत्केरीहरु हिंडे । रोगी र बिरामीहरु हिंडे । ऊ बेलाबेला लड्खडाउने बृद्धहरुलाई हात समाएर डोर्याउँदै अघि बढ्यो । भर्खरका बालबालिकालाई थुप्थुप्याँदै, हौस्याउँदै हिंड्यो । गर्भवती महिलालाई भविष्यको सुन्दर तस्विर सम्झाउँदै ऊ अघि बढ्यो । सुत्केरीका काखे नानीको मुस्कान देखाएर आशाको किरणमा भुलाउँदै हिंड्यो ।

उसले बुझेको थियो, गरिब र निमुखाले यस्तो कष्टमा राज्यबाट कुनै सुविधा खोज्नु वा आशा गर्नु हुँदैन । उच्चतह र पदमा आसिन नेता, सांसद्, मन्त्री र तिनका आसेपासेको एकछत्र हकमाथि आफुहरुले आँखा लगाउनु हुँदैन । ऊ जान्दथ्यो, राज्य व्यवस्था र यसका नाइकेहरुको इतिवृतान्त । ऊ पूर्ण भुक्तभोगी थियो राजनीतिक दाउपेच र सत्ता लुछाचुँडीको ।

उसलाई थाहै थियो, यो सर्वहारा वर्गको उत्थानको लागि राजनीति गर्ने दलको बहुमते सरकार हो । केन्द्र, प्रदेश र स्थानीय सरकारमा बसेकाहरु अहिले आ आफ्नो उत्थानमा व्यस्त भएको बेला हो । उनीहरु घर, घँडेरी, गाडी, जिमखाना र अन्य सरसुविधिा जोड्न पुरै बेफुर्सदी भएको क्षण हो ।
लोक कल्याणकारी सपना बाँड्ने तर आत्मकल्याणकारी योजनामा तल्लिन सरकारमाथि अनेकन् शंका र उपशंका गर्नु पनि भएन । बरु आफुजस्तै सोझा, निमुखा जनताले जतिसुकै दुःख सहनु पर्छ भनेर उसले यस्तो संकटको बेलामा झन् बुझ्यो । सबैलाई यस्तै बुझाउँदै ऊ अघिअघि हिंड्यो । हिंड्दा हिंड्दै आफुजस्तै धेरैको पैताला पट्पटी फुटेर रगत बगेको देखेर पनि उसले नदेखेझैं गरिदियो । सायद् सोच्यो होला, यस्तै कयैन् रगत बगेर आएको यो लोकतन्त्र हो, गणतन्त्र हो ।
ती सबै भोकभोकै हिंडे । रुँदैरुँदै हिंडे । उसले भ्याएसम्म सबैका आँखु पुच्दै हिंड्यो । र बल्ल अँधेरी साँझमा घर पुग्यो ।

यस्तो महामारीमा बाटोभरी महापीडा सहेर भए पनि घर फर्किन पाएकोमा ऊ औधी रमायो । खुशीले घरको आँगन ढोग्यो । पिंढीमा बसेर मुस्कुराउन खोज्यो । लखतरान ज्यानबाट मुस्कुराउने एक चिम्टी शक्ति निस्कन सकेन ।

कयौं दिनको लामो हिंडाई, थकाई, दुखाई र घामपानीको चुटाईले ऊ भोलिपल्टै शिथिल भयो । आफन्त, छिमेकी र गाउँले उसको नजिक पर्न डराए । उसको हालत देखेर घरकै जहान परिवारले होस् हराए ।

पर्दाका जन्ती र मर्दाका मलामी भनिने छरछिमेकी उसको नजिक पर्नै डराए । कोरोनाको डरले सबै तर्किएर परै बसे । घर पुग्नुअघि ऊ नाम मात्रैको क्वारेन्टाइनमा बसेकै थियो ।
क्वारेन्टाइन भैंसी गोठजस्तो । आधारभूत सुविधाबिहिन । पुरै अव्यवस्थित । मापदण्डअनुरुप पूर्वाधार नभएको । आवश्यक स्वास्थ्य सेवा पनि नरहेको । सामुहिक बसाई । एउटै शौचालयमा निर्भर । अव्यवस्थित भान्छा । अस्वस्थ्य खाना । सामाजिक दुरीको सट्टा भीडभाड । क्वारेन्टाइनको प्रष्ट तस्विर यस्तो थियो ।

यस्तो क्वारेन्टाइनमा थोरै संक्रमितबाट झन् अरु धेरैमा रोग फैलिएको थियो । क्वारेन्टाइनमै धेरैको मृत्यु हुन थालेको थियो । त्यहीं बस्दा सबैले क्वारेन्टाइनका लागि सरकारले १० अर्ब रुपैयाँ खर्च गरेको खबर सुने । उनीहरु धन्य भए ।

क्वारेन्टाइन बसेर घर पुगेको भोलिपल्टै ऊ आँगनमा ढल्यो । कसैले उसलाई छुन आँट गरेनन् । बरु नजिकको चौकीमा खबर गरे । खबर सुनेर एकैपटक स्वास्थ्य चौकी र प्रहरी चौकीबाट दुई हुल गाउँमा उक्लिनुपर्ने थियो । उसको स्वास्थ्य परीक्षण गर्नुपर्ने थियो । उसको यात्रा विवरण टिपोट गर्नुपर्ने थियो ।

यहीबेला देशमा नयाँ नक्साको चर्चा र बहस चुलिएको थियो । चुच्चे नक्साको छपाई र वितरण नेताका घरघरमा धुमधाम चलिरहेको थियो । सरकार यसमै पुरै व्यस्त थियो । महामारीमा नागरिकको जिउज्यानको रक्षाभन्दा राष्ट्वादको नक्सा ठूलो बनेको थियो ।

त्यसलगत्तै सत्ताको हानथानमा नेता र मन्त्रीहरुलाई भ्याईनभ्याई हुन थाल्यो । दशकौंदेखि गरिआएको यस्तो सत्ता राजनीतिकको खेल यतिबेलै खेल्नु पर्छ भन्ने ज्ञान उनीहरुमा कहाँबाट आयो होला कसले जानोस् ?

सरकार प्रमुखदेखि पार्टी प्रमुखहरुको यो खेल हरिबिजोग गतिका क्वारेन्टाइनबाट हेरिरहँदा कस्तो दृश्य देखियो होला भन्ने चेत उनीहरुमा कसरी आओस् ?

भारतको गुजरातबाट अनेक दुःखकष्ट झेल्दै १० दिनअघि घर फर्किएको ऊ आँगनमै बित्यो । गाउँलेले उसको शव छुने हिम्मत गरेनन् । कोही वरिपरि पर्नै चाहेनन् ।

त्यही साँझ स्वास्थ्य मन्त्रालयले कोरोना सम्बन्धी नियमित ब्रिफिगंमा दैलेखको एक गाउँमा ३५ वर्षिय युवाको कोरोनाबाट मृत्युभएको बेनामे सूचना पढेर सुनायो । र मृत्युपश्चात गरिएको स्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिएको बतायो । नयाँ संक्रमितको संख्या, हालसम्मको संख्या र मृतकको संख्या सुनाएर मन्त्रालयको टोली एकदिनको ब्रिफिगं सकेर बिदा भयो ।