
अघिल्लो साता नेपालमा आतंक मच्चाएको सलह पुनः देखा पर्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सलह अझै प्रवेश गर्ने सम्भावना रहेकाले सतर्क रहन प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ ।
असार १४ गते नेपाल प्रवेश गरेका सलह फाट्टफुट्ट रूपमा मात्र देखिएकामा अर्काे झुन्ड आउने सम्भावना पनि बढ्दै गएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा हरिबहादुर केसीले बताए ।
सुरुमा आएको सलह आफैँ हराउँदै गएको छ । कतैकतै एक-दुईवटा देखिन्छ । त्यसले खासै धेरै कुनै नोक्सानी पनि गरेको छैन तर भारतका पटना, दरभङ्गा, वनारसलगायतका क्षेत्रमा देखिएको अर्को झुन्ड आउने सम्भावना छ, उनले भने ।
यी झुन्डहरू हावाको बहावसँगै भारतको पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभङ्गाको आसपासका क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही नाकाबाट नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहेको बताइएको छ ।
पानी परेका बेला तथा रातिको समयमा सलहले ठाउँ स्थानान्तरण गर्न नसक्ने भए तापनि ती झुन्ड धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रमा एक/दुई दिन तथा सुदूरपश्चिम प्रदेशमा दक्षिण तथा पश्चिमबाट एवं प्रदेश ५ का दक्षिण–पश्चिमका भूभागबाट दुई/तीन दिनमा प्रवेश गर्नसक्ने सम्भावना रहेकाले त्यसको निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्वतयारी समेत गर्न गराउन केन्द्रले आग्रह गरेको छ ।
पानी निरन्तर पर्यो भने सहलले नेपाल प्रवेश गर्न नसक्ने तर पानी बन्द भयो र अहिलेको जस्तो हावाको चाप रह्यो भने नेपाल प्रवेश गर्ने निकै ठूलो सम्भावना रहने जनाइएको छ ।