
मौद्रिक नीतिमा सहूलियत सहितको पुनर्कर्जालाई प्राथमिकता दिन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दैछ ।
कोरोना भाइरस (कोभिड–१९) कारण थलिएको पोखराको पर्यटन क्षेत्र उकास्न मौद्रिक नीति उदार हुनुपर्नेमा पनि व्यवसायीको जोड छ । बैंकले ५ प्रतिशत व्याजदरमा पर्यटनमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउन राष्ट्र बैंकसँग अनुरोध गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सरकारले अनुदान दिन सक्ने अवस्था नरहेकोले सहूलियतपूर्ण ऋणलाई नै नीतिमा सम्बोधन गर्नुपर्ने बताउँछन् मुद्रास्फ्रीतिका लागि पनि पुनर्कर्जा र बैंकको व्याजमा कमी आउनुपर्ने उल्लेख गर्दै उनले ५ देखि ७ प्रतिशतभन्दा बढी व्याज लिन नपाइने नीतिलाई राष्ट्र बैंकले ल्याउनुपर्ने बताए ।
पश्चिमाञ्चल होटल संघ (हान) पूर्व अध्यक्ष भरतराज पराजुलीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय संचालन गरेका व्यवसायीहरुले कर्जाको भुक्तानी तालिकालाई पुनर्ताजकीकरण गरी २ वर्ष अवधि बढाइदिन माग गरे ।
अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले मौद्रिक नीतिले सरल तरिकाबाट सम्बोधन गरी सबै पर्यटन व्यवसायीलाई राहत दिन आग्रह गरे । यतिखेर मजदुर तथा कर्मचारी टिकाइराख्न सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने उनको भनाइ छ । उनले मजदुर र कर्मचारीका तलब सुविधाको लागि राज्यबाट २५ प्रतिशत, निजी क्षेत्रबाट २५ प्रतिशत बेहोर्ने गरी बाँकी ५० प्रतिशत कर्मचारी तथा मजदूरबाटै तलब सुविधा छोड्ने गरी व्यवस्था मिलाउनुपर्ने बताए । कोभिड–१९ बाट प्रभावित व्यवसायलाई बजेटमा छुट्टाइएको १ खर्बको पुनर्कर्जा र ५० अर्ब रुपैयाँको व्यवसाय संचालन कोषको रकम अपुग भएको उनको गुनासो छ ।

पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले पुनर्कर्जाको सुविधा पर्यटन क्षेत्रको होटल, रेष्टुरेन्ट, ट्राभल, टे«किङ, साहसिक गतिविधि, पर्यटन सवारी लगायत अन्य पर्यटनसँग सम्बन्धित व्यवसायीलाई समेत सरल र सहज रुपमा पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने बताए ।
नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटन क्षेत्रमा ४ खर्बको लगानीमध्ये करिब ७५ अर्ब रुपैयाँ बराबरको बैंक तथा वित्तीय संस्थाको लगानी रहेको व्यवसायीको अनुमान छ ।
बैंक तथा वित्तीय संस्था ऋण लिई लगानी थपेका व्यवसायी कोरोना भाइरससँगै ४ महिनादेखिको लकडाउनले आक्रान्त परेका छन् । यहाँका पर्यटकीयस्तरका ४ सय जति होटल बन्द छन् ।