
देशको प्रधानमन्त्रीको विवाह कस्तो होला ?
तडकभडक र तामझामले भरिपूर्ण, देशभर हल्लाखल्ला, प्रचारप्रसार, मिडियामा छ्याप्छ्याप्ती,
धुमधाम समारोह, असंख्य निम्तालु, भोजभतेर, आदि–आदि ।
अनुमान यस्तै गर्नुभयो होला । तर यसपालि कोरोना फैलावट परिबन्धले ठूलो जमघट त्यति सम्भव नहोला । देशभर चर्चा र खैलाबैला त पक्कै जायज होला ।
प्रधानमन्त्री त के देशको राजनीतिमा अलिक माथिल्लो तहसम्म पुगेका नेताका छोराछोरी, भतिजाभतिजीको विवाहमा समेत गजबको तडकभडक हेर्दै र भोग्दै आएका हामीलाई त्यस्तो अनुमान गर्न घोरिएर सोच्नु समेत पर्दैन।
तर होइन । तपाई हाम्रो यो सोझो अनुमान युरोप स्काण्डिनेभियामा पर्ने देश डेनमार्ककी प्रधानमन्त्रीले चाहिं फेल खुवाइदिएकी छिन्।

डेनमार्ककी बहालवाला प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले हालै विवाह गरिन्। ४२ वर्षीया फ्रेडरिक्सनले ५५ वर्षीय आफ्ना प्रेमी बो टेङ्बेयर्गसँग करिब ६ वर्ष लामो प्रेमसम्बन्ध विवाहमा परिणत गरेकी हुन्।
तर उनको विवाह कस्तो भयो भन्ने उल्लेख गर्नलायक ठानेर यी हरफहरु कोरिएका हुन् ।
डेनिस प्रधानमन्त्री मेट्टे चलचित्र उद्योगका चर्चित फिल्म फोटोग्राफर बो टेङ्बेयर्गसँग प्रेम सम्बन्धमा थिइन्। दुई वर्षअघि प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्न टेङ्बेयर्गले प्रस्ताव राखे । सो प्रस्तावपछि विवाहका लागि राजी भएको सो जोडीले विशेष परिस्थिति कारण दुई पटकसम्म तय गरेको विवाह मिति भने सार्नुपर्यो ।
पहिलोपटक संसदीय चुनावको मितिसँग जुधेकाले । दोस्रोपटक युरोपियन युनियनको बैठकमा भाग लिन जानु परेकाले।
दुबै चोटी विवाहको मिति तोकिएको केही समयपछि आएका ती परिस्थिति मेट्टेलाई आफ्नो व्यक्तिगत जीवन कालखण्डको विशेष दिन (विवाह) भन्दा कर्तव्य ज्यादा महत्वपूर्ण लागे।
अन्ततः तेस्रो पटकको मितिमा यो सुखद संयोग जुरेकोले मेट्टेले खुसी हुँदै विवाहको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिन् । प्रेमको संकेतसहित क्याप्सन लेखिन्ः ‘एस्’ प्रधानमन्त्री मेत्तेका अत्यन्त निकटस्थ बाहेक अरुले त्यही देखेर उनको विवाह भएको पत्तो पाए । त्यसअघि यसबारे चर्चा कहीँ कतै सुनिएन।
त्यति ठूलो पद, ओहादाकी दुलही सामान्य तरिकाले परम्परागत वैवाहिक विधिबाट विवाह बन्धनमा बाँधिएकी हुन् ।
राजधानी छोडेर त्यहाँदेखि सय किलोमिटरभन्दा टाढाको एक सानो सहरको चर्चमा अत्यन्त सीमित निम्तालुहरुबीच विवाह सम्पन्न भएको खबर पछि केही मिडियाले लेखे। त्यस ठाउँमा सो नवदम्पतीको बिदा मनाउने घर भएकाले उनीहरु त्यहाँ पुगेर विवाह गरेको थाहा भयो।
विवाह व्यक्तिगत जीवनको पाटो हो भन्ने व्यवहारतः लागू गर्दै त्यहाँ राज्यको कुनै संयन्त्र र अर्थ प्रयोग भएको संकेतसम्म मिलेन । विवाहपछि मिडियाले समाचार त बनाए । मुख्यतया उनकै फेसबुक र इन्स्टाग्रामको पोस्टमा आधारित भएरमात्र ।