प्रकाशकीय

-



     प्रकाशकीय    
     श्रावण ५ गते २०७७ मा प्रकाशित



हामी सबै अहिले विषम परिस्थितिमा छौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले नेपाल पनि विगत ४ महिनादेखि लकडाउनमा गुज्रिरहेको छ । प्रतिकूल परिस्थितिमा पनि अनुकूल लक्ष्य लिएर अघि बढ्न सकिन्छ भन्ने सोचअनुरुप हामी सफलआवाज डटकम (www.safalawaj.com) न्यूज पोर्टलमार्फत् तपाईँहरुमाझ आएका छौं ।

सूचना पाउने नागरिकको संविधान प्रदत्त नैसर्गिक अधिकार हो । यस्तो सूचना सत्य र तथ्यमा आधारित मात्रै हुनु पर्दछ भन्ने हाम्रो अटल मान्यता रहेको छ । यही मान्यतामा रही सन्तुलित समाचार, उत्कृष्ट विचार, मार्गदर्शक लेख र प्रेरणादायी रचनालाई पाठकको रुचिअनुरुप बरोबर पस्किँदै जाने हाम्रो उद्देश्य हुनेछ । साथै अनलाइन सञ्चारमाध्यमलाई पूर्ण व्यावसायिक, जिम्मेवार र उत्तरदायीपूर्ण बनाउँदै लगिनेछ ।

काठमाडौं महानगरपालिका ४, बालुवाटारमा केन्द्रीय कार्यालय रहने गरी सूचना तथा प्रसारण विभागमा विधिवत् दर्ता भएको यो न्यूज पोर्टल सफल मिडिया हाउस प्रालिद्वारा संचालन हुनेछ ।हामी सदैव सत्य, तथ्यमा आधारित रही सकारात्मक सूचना प्रवाह गर्ने हेतुले अनेकन् अनलाइन पोर्टलहरुको भीडमा यहाँहरुको माया र साथ पाउने आशासहित आएका छौं ।

विषम परिस्थितिबीच जन्मिएको सफलआवाज डटकम हरेक परिस्थितिसँग जुध्दै सफल यात्राको बाटो तय गर्ने लक्ष्यका साथ २०७७ साउन ५ गते सोमबारदेखि विधिवत् संचालनमा आएको जानकारी गराउन पाउँदा सफल मिडिया हाउस प्रा.लि.खुसी व्यक्त गर्दछ ।

मुलुकलाई समृद्ध बनाउन स्वदेशमै रहेर केही गर्न सकिन्छ भन्ने उद्देश्यले प्रेरित मिडिया क्षेत्रका युवाहरुको प्रयास हो, सफल आवाज । हाम्रो यो प्रयासको सफलता सदैव आमपाठक, विज्ञापनदाता र शुभेच्छुकहरुको साथ, सद्भाव र भरोसामा निहित रहने छ ।

यहाँहरुको रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया सधैं शीरोधार्य छ । धन्यवाद ।

दुर्गाप्रसाद हुमागाई
प्रकाशक /प्रबन्ध सम्पादक
सफल आवाज डट कम