
लगातार तीन दिनसम्म परेको वर्षापछि बढेको नारायणी नदीको बहावले नाघेको खतराको विन्दु । तस्वीरः रासस
काठमाडौ । नेपालमा अझै ५ दिन भारी वर्षाको अनुमान गरिएको छ । न्यूनचापीय रेखा नेपाली आकाश माथि आएर बसेको सो नहटेसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका महानिर्देशक सरजुकुमार बैद्यले साउन ९ गतेपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने जानकारी दिए ।
उनका अनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय मिलिलिटर वा सोभन्दा बढी पानी परेको छ । यो मात्रा अझै बढेर २ सय मिलिलिटर पानीपर्ने सम्भावना छ ।
गएको २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी वर्षा भयो । त्यहाँ १ सय ६९ मिलिमिटर पानी परेको हो । यो परिणाम अझै केही बढ्ने अनुमान छ । त्यसो त यो वर्ष आगामी कात्तिकसम्मै वर्षा हुने सम्भावना जल तथा मौसम विज्ञान विभागले गरेको छ ।
अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरो गएको छ । क्षतिको विवरण संकलन भइरहेको सरकारी अधिकारीले जनाएका छन् ।
देशकै ठूलोमध्येको एक पृथ्वी राजमार्गमा करिब २ सय ठाउँ पहिरो खसेको छ । पहिरोले राजमार्गको विभिन्न ठाउँमा यातायात अबरुद्ध भएको छ ।
उता, सप्तकोशी नदी तथा नारायणी नदीमा पानीको बहाव बढेको छ । वर्षात् नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ ।
खतराको तह पार गरेको स्थानको नारायण नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उक्त स्थान छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
सप्कोशीमा नदीमा आएको बाढीले खतराको तह पारेको गरेको छ । मंगलबार बिहानसम्म पानीको बहान यो वर्षकै उच्च प्रतिसेकण्ड ३ लाख ३४ हजार क्युसेक मापन गरिएको छ । बहान उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । यस्तै, कमला, कन्काई, बागमती र ती नदीका सहायक नदीमा बाढीले खतराको तहपार गर्नसक्ने जल तथा मौसम विभागको अनुमान छ ।