
काठमाडौं, ६ साउन । नेपाल धितोपत्र बोर्डले प्रस्ताव गरेको विशिष्टीकृत लगानी कोष (प्रथम संशोधन) नियमावली २०७७ लागू भएको छ । नेपाल सरकार, अर्थमन्त्रालयले स्वीकृति दिएसँगै संशोधित नियमावली लागू भएको हो ।
साविकको विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ मा प्रथम संशोधन गरी अर्थ मन्त्रालयको स्वीकृति लिई लागू गरिएको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए ।
उनका अनुसार यो संशोधन भएसँगै विशिष्टीकृत लगानी कोष सम्बन्धी नियमावलीमा विदेशी कोष र विदेशी लगानीलाई भित्र्याउन र प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरीएको हो ।
विदेशमा दर्ता भएको कोष वा कोष व्यवस्थापकले प्रचलित नेपाल कानूनको अधिनमा रही त्यस्तो कोष वा कोष व्यवस्थापकको पूर्ण वा अधिकांश स्वामित्वमा नेपालमा कोष स्थापना वा कोष व्यवस्थापनको कार्य गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसैगरी प्राइभेट इक्वीटी फण्डको दायरा विस्तार गरी प्राइभेट इक्वीटीको परिभाषामा साधारण शेयरमा परिवर्तनीय धितोपत्र वा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्ट्रुमेन्ट) वा ऋण वा स्वःपूँजीसँग सम्बन्धित अन्य उपकरणमा लगानी गर्ने कोष भनी थप गरिएको छ भने भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी परिभाषामा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्ट्रुमेन्ट) वा ऋण लगानी गर्ने कोष समेत थप गरिएको छ ।
संशोधित नियमावलीमा योग्य लगानीकर्तामा द्विपक्षीय वा बहुपक्षीय अन्तराष्ट्रिय संस्थागत लगानीकर्ताको साथै विदेशी व्यक्ति, विदेशी फर्म, विदेशी कम्पनी, विदेशी संस्थागत लगानीकर्ता, विदेशमा दर्ता भएको कोष, विदेशी कोष व्यवस्थापक र अन्य यस्तै प्रकारको संगठित संस्थालाई समावेश गरिएको छ ।